काठमडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयलाई प्राथमिकतामा पारेका छन् ।
कसैले तामाकोसी जलविद्युत आयोजनाको लागत दोब्बरले बढ्ने विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले महँगा गाडी किन्न संसद्ले सरकारसँग करोडौं रकम माग गरेको विषयलाई प्राथमिकतामा पारेका छन् ।
कसैले तपोवनले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज अतिक्रमण गरेको विषयलाई विशेष समाचार बनाएका छन् भने केहिले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको समाचार छापेका छन् ।
आजको नागरिक दैनिकले स्वदेशी लगानीमा निर्माणधीन तामाकोसी जलविद्युत आयोजनाको लागत दोब्बर पुग्ने विषयलाई प्राथमिकतामा पारेको छ । आयोजनाको लागत ३५ अर्बबाट बढेर ६९ अर्ब पुग्ने देखिएको समाचारमा उल्लेख छ। २०७२ असार भित्र बिजुली उत्पादन गरिसक्ने लक्ष्य पुरा गर्न नसकेको आयोजना अर्को वर्षको कार्तिकमा व्यावसायिक उत्पादन गर्ने तयारीमा रहेको नागरिकले लेखेको छ ।
यस्तै नयाँ पत्रिकाले पनि यसै विषयलाई मुख्य समाचार बनाउँदै देशकै आकर्षक आयोजना माथिल्लो तामाकोसीः ३५ अर्बको आयोजना ७० अर्ब शीर्षकमा खबर छापेको छ । ७० अर्ब लगानीबाहेक साढे ४ वर्ष ढिलो हुँदा दैनिक चार करोडका दरले ६६ अर्ब घाटा हुने देखिएको समाचारमा उल्लेख छ ।
यस्तै नयाँ पत्रिकाले सडकका खाल्डा नपुर्नेलाई प्रधानमन्त्री कार्यालले बोलाएको विषयलाई पनि प्राथमिकतामा पारेको छ । सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं महानगरपालिकालाई छलफलका लागि प्रधानमन्त्रीको कार्यालयले शुक्रबार बोलाएको हो ।
अन्नपूर्ण पोस्टले गाडी किन्न संसद्ले माग्यो थप बजेट शीर्षकमा मुख्य समाचार छापेको छ । पदाधिकारीलाई २३ वटा गाडी र कर्मचारीलाई ३० वटा मोटरसाइकल किन्न संघीय संसद्ले सरकारसँग करोडौँ रुपैयामा माग गरेको छ ।
यस्तै कान्तिपुरले तपोवनले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज अतिक्रमण गरेको विषयलाई मुख्य समाचार बनाएको छ भने विभिन्न देशसँग गरिएको श्रम सम्झौतामै अधिकार नभएको विषयलाई प्राथमिकताका साथ छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४