काठमाडौं– कोभिड–१९ महामारीका कारण आधा सिजनमै रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) को बाँकी खेलको तयारी सुरु भइसकेको छ। आउँदो सेम्टेम्बर–अक्टोबरमा युएईमा हुने खेलका लागि आईपीएलका सातै क्लबले खेल स्थलतर्फ जाने तयारी थालेका छन्।
अब इन्डियाका अधिकांश टिमका खेलाडी आउँदो अगस्ट १३ मा यूएई प्रस्थान गर्नेछन्। चेन्नई सुपर किंग्सका भेट्रान खेलाडी महेन्द्रसिंह धोनी पनि अभ्यासका लागि चेन्नई पुगेका छन्। ‘उपलब्ध भएका र टिमका इन्डियन खेलाडी आउँदो अगस्ट १३ मा यूएई जानेछन्,’ चेन्नई सुपर किंग्सका सीईओ काशी विश्वनाथनले पीटीआईसँग भने।
यता धोनी चेन्नई पुगेपछि सामाजिक सञ्जालमा धोनीका सामर्थकले उत्सव मनाएका छन्। चेन्नईको भने अब इन्डियामा अभ्यास हुनेछैन। विश्वनाथनका अनुसार चेन्नईमा अभ्यास नगरी खेलाडीहरु यूएई जानेछन्।
इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएलको दोस्रो भाग यूएईमा आउँदो सेप्टेम्बर १९ बाट सुरु गर्दैछ। इन्डियामा आयोजना भएको प्रतियोगिताको बबलमा कोभिड १९ को महामारी देखिएपछि लिग नै स्थगित भएको थियो।
त्यसपछि इन्डियामा लिग गराउन सम्भव नदेखिएको हुँदा आईपीएल यूएईमा गर्न लागिएको हो। चेन्नईले सेप्टेम्बर १९ मा मुम्बईविरुद्ध खेल्दै बाँकी रहेको खेल पूरा गर्नेछ।
धोनीको टिम अहिले १० अंकका साथ दोस्रो स्थानमा छ। यता पहिलो सत्रमा व्यवधान भोगेका केही खेलाडीले पनि दोस्रो सत्रका लागि आईपील फर्किने भएका छन्।
कोलकत्ता नाइट राइडर्सका कप्तान इयोन मोर्गनले आफू बाँकी सिजनको आईपीएलमा उपस्थित हुने बताएका छन्। इंग्ल्यान्डको र बंगलादेश भ्रमण स्थगित भएपछि उनले आईपीइएल खेल्ने पक्का भएको हो।
द हन्ड्रेडमा उनको लन्डन स्पिरिट टिमलाई नर्दन सुपरचार्जरले हराएपछि उनले आईपीएल खेल्ने पक्का भएको जानकारी दिएका हुन्। त्यसपछि अब इंग्ल्यान्डका खेलाडीले आईपीएल खेल्ने वा नखेल्ने भन्ने कुरा व्यक्तिगत चाहनामा पुगेको मोर्गनले बताएका छन्।
‘अब आईपीएल खेल्ने वा नखेल्ने निर्णय व्यक्तिगत भएको छ,’ उनले भने, ‘मलाई लाग्छ दुवै पक्षको हितमा रहेर निर्णयहरु हुनेछन्। हामीले आईपीएल खेले पनि बंगलादेशमा खेले पनि विदेशमै गएर उस्तै अवस्थामा खेल्ने हो। यदि खेलाडीले विश्वकप तयारीका लागि आराम लिन्छु भने पनि त्यो व्यक्तिगत इच्छा हुनेछ।’
कोलकत्ता नाइट राइडर्स अहिले चार अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ। यता राजस्थान रोयल्सका जस बटलरले भने आईपीएलबारे निर्णय लिइसकेका छैनन्। उनको दोस्रो बच्चा सेप्टेम्बरको सुरुमा जन्मिने हुँदा परिवारको रेखदेखमा समय दिनपर्ने भएर आईपीइल खेल्न नसक्ने उनले बताएका छन्।
उनको टिम राजस्थान ६ अंकका साथ पाँचौंं स्थानमा छ भने शीर्षस्थानमा दिल्ली क्यापिटल छ। दिल्लीको १२ अंक छ।