काठमाडौं- नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हिडेको बाटो गलत भएको बताएका छन्। उनले नेकपाका दुर्इ अध्यक्ष हिडेको मार्ग गलत भएकोले नेपालका लागि हितकर नहुने बताएका हुन्।
बुधबारबाट काठमाडौंमा सुरु भएको नयाँ शक्तिको १५ औँ संघीय बैठकलार्इ सम्बोधन गर्दै डा भट्टराईले नेकपा नेतृत्वको दुर्इ तिहाइ सरकारले समृद्धिको नारा लगाएपनि आन्तरिक स्वार्थ धेरै फरक भएकोले जनताको जीवनमा कुनै परिवर्तन नआउने बताए। उनले यो सरकारविरुद्ध नयाँ शक्तिले चाँडै आन्दोलन थाल्नेसमेत बताए।
उनले भने, 'दुई तिहाइको सरकारबाट जनताले जे अपेक्षा गरेको थिए, त्यो निराशामा परिणत भइसकेको छ।' ओली-प्रचण्डको कुर्सी र सत्ताकेन्द्रित समाजवादले समृद्धि आउन नसक्ने बताउँदै उनले भने, 'अब नयाँ वैकल्पिक शक्ति चाहिन्छ। प्रतिपक्षी कांग्रेसले पनि सकरात्मक भूमिका खेल्न सकेन। कम्युनिस्ट सरकार असफल भएपछि सरकार आफ्नो पक्षमा आउला भन्ने आशा गरेर बस्नेबाहेक अरू भएन।'
निर्वाचनअघि सिंहदरबार गाउँगाउँमा भनेपनि अहिले भ्रष्टाचार गाउँगाउँमा पुर्याएको आरोप लगाए।
उनले प्रधानमन्त्री ओलीकै कारण संघीयता कार्यान्वयनमा पनि समस्या आएको बताए। उनले भने, 'संघीय सरकारले आवश्यक कानून बनाएर अघि बढ्नुपर्नेमा प्रदेश समन्वय समिति बैठकसमेत नबोलाएर प्रधानमन्त्रीले संघीयता कार्यान्वयनप्रति उदासीनता देखाएको छ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४