पोखरा–पोखरामा डेंगू संक्रमितको संख्या बढेको छ। एक हप्तामा अस्पताल भर्ना भएका बिरामीमध्ये ४१ जनामा डेंगूको संक्रमण देखिएको छ ।
सुरुमा दुईजनामा देखिएको डेंगू अघिल्लो हप्ता २८ जनामा देखिएको र अहिले त्यो संख्या बढेर ६९ पुगेको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको कार्यालयले जनाएको छ ।
डेंगूको संक्रमण भएकामध्ये अधिकांस पोखरा ८ का छन्। त्यस्तै पोखरा ५, १० र १५ वडाबाट अस्पताल भर्ना भएकाहरु पनि डेंगू संक्रमित छन् ।
गण्डकी मेडिकल कलेज, चरक मेमोरियल र फेवासिटी अस्पताल लगायतका अस्पपतालमा परीक्षण गराउन आएका ६९ जनामा डेंगूको संक्रमण देखिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए।
संक्रमण रोक्न सचेतना अभियान
‘अहिलेसम्म ६९ जनामा डेंगू भएको पत्ता लगागेको छ । अस्पताल आउने बिरामीको संख्या बढिरहेकाले यो संख्या बढ्न सक्छ,’ स्वास्थ्य महाशाखा प्रमुख पौडेलले भने, ‘लामखुट्टेको टोकाइबाट संक्रमित हुने भएका कारण हामीले रोकथामका लागि सचेतनामूलक अभियान पनि चलाएका छौं ।’
विशेषगरी डेंगू रोग असोज र कात्तिक महिना बढी भेटिने गरेकाले पनि रोकथामका अभियान चलाएको पौडेलले बताए। ‘डेंगूका सार्ने लामखुट्टेले दिउँसोमा टोक्छ’, उनले भने ‘सफा पानीमा फुल पार्दछ, त्यसैले पानीलाई छोपरे मात्रै राख्नुपर्छ।’
उनले घरदैलोमा पुगेर पोथी जातका लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्ने भएकाले पानी जम्ने खाल्टाखुल्टी पुर्न,सरसफाइमा ध्यानदिन र आवसयक सुरक्षा अप्नाउन आग्रह गरेको बताए। गमीमा लामखुट्टेले धेरै टोक्ने भएपनि जाडोमा हराउने भएकाले डेंगूको संक्रमणपनि जाडो सुरु भएसँगै कम हुने पौडेलले बताए ।
पोखरामा भेटिएका डेंगूका बिरामीहरु अधिकांश भारत, तराई र कतारबाट आएकाको परिवारमा देखिएको पौडेलले बताए ।
कसरी फैलन्छ डेंगू भाइरस
डेंगूले संक्रमित लामखुट्टेले टोकेपछि करिब ४८ घन्टाभित्र रगतमा भाइरस फैलिने गण्डकी मेडिकल कलेजका मेडिकल विभागमा कार्यरत डाक्टर दुर्गा ढुङ्गानाले बताए । ‘त्यही अवस्थामा अर्को लामखुट्टेले बिरामीलाई टोकेर स्वस्थ मानिसलाई टोके पछि रोग सर्छ’ उनले भने। ‘संक्रमित लामखुट्टेलेको टोकाइबाट बिरामी परेको ब्यक्तीलाई अन्य लामखुट्टेले टोक्दा संक्रमण एकपछि अर्कोमा फैलिन्छ।’
लामखुट्टेले टोकेपछि रोगको लक्षण देखिन करिव ३ देखि १४ दिनसम्म लाग्न सक्छ। पहिलोपटक संक्रमण फैलिएका ठाउँमा सामान्य रूघाखोकी ज्वरो आउने, टाउनको जिउदुख्ने, जोर्नी तथा ढाडहरु कडा दुख्ने जस्ता लक्षण देखिने उनले बताए। यस्तोमा रूघाखोकी र ज्वरोका सामान्य औषधि खाएर निको हुनसक्छ।
उनले गण्डकी मेडिकल कलेजमा पर्वत, स्याङजा लगाएतका जिल्लाबाट समेत डेंगूका विरामी आएको बताए । उनीहरु उपचार पछि घर फर्किएको उनको भनाई थियो । डेंगू संक्रमणले शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ । यसले घातक रूप लिँदा छाला, पेट, आन्द्राजस्ता शरीरका भित्री भागमा रक्तस्राव हुने र बिरामीको मृत्युसमेत हुन सक्ने चिकित्सकले बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४