भैरहवा- फौजी काजीको आफ्नै कथा छ । १९९० को कारगिल युद्धमा पाकिस्तान बोर्डरमा लड्दा उनीसँग बेग्लै जोश थियो । दिनरात गोली तथा बमबारी भइरहन्थ्यो तर त्यसले उनलाई रत्तिभर डर जागेन। फौजी जीवन असाध्यै रोमाञ्चक र साहसिक रहेको उनी स्मरण गर्छन् ।
भारतीय सेनामा प्रवेश गरेको ३ वर्षमै उनी दुश्मनलाई निशाना लगाउन माहिर भएका थिए । अन्य ८ सय फौजीसंगै गोर्खा फौजको तर्फबाट उनी एक वर्ष पुरा कारगीलमा खटिए । त्यो क्रममा उनका कयौं सहपाठी सहिद भए । उनी भाग्यले बाचे र पछि गोर्खा फौजको तालिम प्रशिक्षक प्रशिक्षार्थिको रुपमा छानिए ।
उनको सेनाको हेडक्र्वाटर पुर्णेमा थियो । त्यसपछि उनले त्यहाँ दुश्मनलाई कसरी बिना हतियार परास्त गर्ने भनेर शारिरीक प्रशिक्षण लिने र दिने काममा बिताए।
रुपन्देहीको पथ्थरडाडाका काजी राना भारतीय सेनाको जागिरे जीवन सम्झिदैं भन्छन् ‘कारगिलबाट फर्केपछि ५ वर्ष तालिम लिए । त्यसपछि २५ वर्ष तालिम दिए । ’
काजीले ४० हजार भारतीय सेनालाई तालिम दिए । भारतका मुख्य सुरक्षा दस्ता ब्ल्याक कमाण्डोलाई पनि प्रशिक्षण दिए काजीले । विभिन्न देशका आर्मि अफिसरले लिने तालिम सिआइजे डब्लु स्कुल र आर्मि इन्स्टिच्यूट अफ फिजिकल ट्रेनिङ स्कुलमा पनि प्रशिक्षक भएर तालिम दिए । ’
काजीको जन्म २० चैत्र २०२५ मा राना गाँउ गुमार्दी भिरकोट नगर पालीका-३, स्याङ्गजामा भएको थियो । बाबा शेर बहादुर राना र आमा खेम कुमारी रानाको छोराको रुपमा जन्मेका उनी २०३३ सालबाट सैनिकटोल पथ्थरडाडा रुपन्देहीमा बसोबास गर्न थालेका हुन् ।

सानै बाल्यकाल देखि मार्शल आर्टसप्रति बढी रुचि थियो । उनको रुचीलाई ८ बर्षको उमेरमै मामा जुद्ध रानाले पुरा गरिदिए । उनको मामा जुद्ध जो भारतीय सेनामा थिए । मामासंग सानैमा जिम्न्यास्टींग, कराते, बक्सींग सिकेका रानाले पछि भारतीय सेनामा भर्ति हुने र खेल जगतमा बढी महत्व र सुविधा पाउँछ भन्ने सुने अनुसार तयारी पनि थाले।
सन् १९८७ को फ्रेबुअरी २५ मा गोरखपुरको कुनाघाटमा भर्ति शुरु भयो । उनी पनि देखिए त्यहि समय भर्ति भएका रानाले पहिलो कोर्ष ५८ दिनको ५८ गोर्खा तालिम केन्द्र सिलोंगमा लिएका थिए । ८ महिने उक्त तालिममा ३ सय जवानहरुमा शारिरीक अभ्यासमा उनी उत्कृष्ट भए । उक्त तालिम भन्दा धेरै कठीन सिक्नलाई घाम, पानी, रात हुरी बतासमा पनि नभनि गर्नु पर्ने हुन्थ्यो ।
त्यसलगत्तै उनी ५८ गोर्खा तालिम केन्द्र सिलोंगका तर्फबाट आर्मि फिजीकल तालिम महाविद्यालय पुनेमा देश विदेशका आर्मिसंग तालिम गर्ने मौका पाए । उक्त तालिममा पनि उनी ३ सय प्रशिक्षार्थिलाई पछि पार्दै गोल्ड मेडलिस्ट बन्न सफल भए ।
१९८८ मा आफ्नै पल्टनमा फिजिकल फिटनेश प्रशिक्षकको पदमा नियुक्त भएका राना फेरि जिम्न्यास्टीक प्रशिक्षण लिन गए । एक सय जना सहभागी उक्त तालिममा पनि उनी गोल्ड मेडलीस्ट भए । त्यसपछि ६/८ गोर्खा राइफलको तर्फबा हेड क्वाटरको प्रशिक्षकको रुपमा नियुक्त पाएका थिए । त्यसपछि उनी हेडक्वाटरको तर्फबाट देशैभर आर्मीलाई फिजीकल फिटनेश, योगा, बक्सिङ, सेल्फ डिफेन्स, कम्ब्याट, करातें तालिम गराईरहे , लगातार २५ वर्ष सम्म ।
गोरखा फौजमा नेपालीले जसरी विरता प्राप्त गरेर, बहादुरी देखाएर संसारसामु विश्वासिला फौजीको छवि बनाए, त्यसैगरी काजीरानाले पनि भारतीय सेनाका प्रमुख तथा मुख्य सुरक्षा दस्ताका कमाण्डरलाई पुर्णे महा विद्यालयमा जुडो र कराते, सिलोंगमा करातें, हरियाणामा ब्ल्याक क्याट कमाण्डोको प्रशिक्षण दिएका थिए । यसैगरी मिजोरम सिआइजेडब्लु कमाण्डो कोर्षको लागी अमेरिका, नेपाल, भुटान, म्यानमार, श्रीलंका, काजिस्थान, अफगानिस्थान, मोरिससबाट सहभागी भएका अफीसरलाई मुख्य भूमिकामा रही फिजीकल टेनिंग दिएका थिए रानाले ।

उनी दिनदिनैं भारतीय सेनामा जसरी आफ्नो मेहनतको कारण अगाडी बढ्दै गए त्यसको मुख्य प्रेरणाको स्रोत रेन्सी एसबी गुरुङ र विग्रेडियर सरभेस डंगोल रहेका थिए। जीवनभर भारतीय अफीसरलाई तालिम दिएका उनी ३० वर्षको जागिरबाट सेवा निवृत भए र स्वदेश फर्के ।
भारतीय सेनाको सुवेदार मेजर पदबाट सेवा निवृत भएपछि काजी करातें खेलमार्फत नेपालमा स्वास्थ्य अभियान चलाउन लागेका छन् । करातें क्षेत्रमा काजीलाई ल्याउने विश्व करातें अर्गनाइजेशन जापनका संस्थापक नाइन डन रेडबेल्ट विकाइचो तादासी नकामुरा हुन् । त्यसैगरी गोजुरीयो कराते डो मिसन इन्टरनेशनलका संस्थापक जापनका ब्लयाकबेल्ट नाइन डन हांसी केन्शु हिदियो वान्ताबे पनि उनलाई करातें क्षेत्रमा ल्याउने व्यक्ती हुन् ।
३० वर्ष भारतीय सेनामा छदां खेलकुदकोलागी मिहनेत गरेका उनले आफ्नो देशमा पनि खेलकुद मार्फत केही गरौं भनेर संस्था खोलेर अगाडी बढे ।जापान गोजु रीयो करांते डो मिसन संघ नेपालका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक काजि रानाले संस्था राष्ट्रिय खेलकुद परिषदमा दर्ता गराउने र नेपाली खेलकुदको श्रीवृद्धिमा बाटो देखाउने भरत बहादुर के.सी.को ठूलो भूमिका भएको बताउँछन् । जिल्ला खेलकुद विकास समिती रुपन्देहीको पुर्व अध्यक्ष समेत रहेका के.सी सहित गिरी प्रसाद पुन, उमेश थापा, भिमसेन थापा, सन्तु चौधरीले उनको अभियानलाई निस्वार्थ साथ दिइरहेका छन् ।
जतिबेला भारतीय सेनामा छदां इन्डियन कराँते टिम लिएर अन्तराष्टिय प्रतियोगिताहरुमा सहभागीको लागी भारतको झण्डा बोकेर हिडदा बाहिर बाहिर खुसी हुने भएता पनि भित्रभित्रै उनी चिन्तित हुन्थे । सधैं सोच्थे : नेपालको झण्डा बोकेर हिड्ने दिन आउलका की ?
तर अहिले ३० वर्षपछि विभिन्न देशमा हुने करातें प्रतियोगितामा नेपाली खेलाडी टोलीको झण्डा बोकेर हिड्दा उनलाई निकै गर्व लागेको छ । उनले नेपाली करातें टोलीको नेतृत्व गरेपछि अन्तराष्टिय गोल्ड मेडलसहित पदक पनि प्राप्त गरेको छ नेपाली टोलीले ।
उनले जाने बुझेको र गरेको शारीरिक व्यायम/ खेलको विज्ञान कराँतेको कला कौशलहरु सिकाउदैं हिडेका छन् । देशैभर करिब १७ शाखा रहेको मिशन गोजु रियो कराँते डोको भर्खरै लुम्बिनीमा अन्तराष्टिय सेमिनार सम्पन्न भएको छ ।
अहिलेका युवायुवतीलाई बिहानको ६-७ बजे सुतिरहने समयमा र साँझ ५-६ बजे घुमीहिड्ने समयमा करातें खेल सिकेमा धेरै फलदायी हुने उनको विश्वास छ । नेपालमा हुने विभिन्न कार्यक्रममा आफ्नै पेटमाथीबाट चारपांग्रे र २ पांग्रे गाडी कुदाएर देखाउने काजीको कला र सिप बिहान झिसमीसेदेखि राती अबेरसम्म साट्ने गरेका छन् ।
सेवा निवृत्त अधिंकांश लाहुरेहरु खानपिन र घुमघाम तथा विदेशमा अझै धेरै पैसा कमाउन सेक्युरिटी गार्डमा काम गरेर आफ्नो व्यक्तिगत जीवन निर्वाह गरिरहेका बेला काजी भने खेल अभियानमा सक्रिय छन् ।
