पोखरा- नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्दै आएको विवेकशील साझा पार्टीले देशैभरि संगठन बिस्तारको विशेष अभियानमा जुटेको जनाएको छ।
यस्तो अभियान गत असोज महिनाको एक गतेदेखि आरम्भ भएर ३ महिनासम्म चल्नेछ। यस अभियान अन्तर्गत सदस्यता वितरण, पार्टीका विभिन्न तहगत समितिहरुको निर्माण, सदस्यहरुको लागि अभिमुखिकरण प्रशिक्षण, खुला अन्तरक्रियात्मक कार्यक्रम, भेला तथा सभाहरुको आयोजनाहरु तय गरिएको कुरा प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए। आचार्यका अनुसार विभिन्न सामाजिक/राजनैतिक व्यक्तित्वहरुसँग भेटघाट, सुझाव संकलन, पत्रकार संमेलन आदि कार्यहरु पनि विवेकशील साझाले एकैसाथ गरिरहेको छ।
सुदुर पश्चिम प्रदेशबाट सुरु भएको विवेकशील साझा पार्टीको केन्द्रिय प्रशिक्षण अभियान गण्डकी प्रदेशमा समेत संपन्न भएको कुरा पोखरामा भएको उक्त पार्टीद्धारा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो। पत्रकार सम्मेलनमा विवेकशील साझा पार्टीका सँयोजक रवीन्द्र मिश्रले अहिलेको सरकारले जनतामा घोर निराशाको प्रवाह गरेको बताए।
मिश्रले भने- 'अधिकारसम्पन्न सरकार हुँदा पनि अरुलाई दोष दिएर आफुहरुले केहि गर्न नसक्नु विडम्वना हो। कसैले आलोचना गरेको देख्न नसक्ने अनि आफ्ना कार्यकर्तालाई अरिंगाल भएर जाइलाग्न निर्देशन दिने सरकारको नेतृत्व देखेर साँच्चै विरक्त लागेर आउँछ।' उनले थपे-'सरकार आफ्नो कार्यशैलीमा पुरै फेल भैसकेको छ।'
प्रमुख प्रतिपक्षी दलमा समेत लाचारी देखिएकोले जनतामा झन् बढि निराशा प्रवाह भएको उनले बताए । जनताको अपेक्षा पुरा गर्ने सम्बन्धमा केहि पनि गर्न नसकेको सरकार र उस्तै प्रतिपक्षका कारण अब वैकल्पिक शक्ति नरोजी जनताले सुखै नपाउने उनले दाबी गरे । 'अब त जनताले पनि हामी अहिलेसम्म भ्रममा रहेछौँ भन्ने कुरा महशुस गरिसकेका होलान्।' उनले भने-'त्यसैले अब परिवर्तन आफ्नै पालामा हेर्ने हो भने विवेकशील साझा पार्टीलाई नै रोज्न म सबैसमक्ष आग्रह गर्दछु।'
पत्रकार सम्मेलनलाई संबोधन गर्दै पार्टीका नीति तथा प्रशिक्षण विभाग प्रमुख डा. सूर्यराज आचार्यले 'विवेकशील साझा पार्टीले मूल्य-मान्यतामा आधारित सुसंस्कृत राजनीति गर्न खोजेको बताउँदै आफ्नो पार्टीको राजनीतिक विचारधारा कल्याणकारी र सहभागितामुलक लोकतन्त्र भएको वताए। शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र सामाजिक सुरक्षाजस्ता जनताका मौलिक अधिकारहरुमा राज्यको दायित्व रहने गरी समन्वयात्मक स्वतन्त्र बजार अर्थतन्त्रलाई अंगाल्ने पार्टीको नीति रहेको' वताए।'
नेता केशव दाहालले कांग्रेस र कम्युनिस्टको युग सकिएको धारणा राखे। 'हामी लुगा बदल्छौं, घरको रङ बदल्छौं, घर बदल्छौं, उनले भने, 'पार्टी बदल्न किन सक्दैनौं ?' उनले पुराना पार्टीको योगदान हुँदाहुँदै पनि उनीहरुको युग समाप्त भइसकेको बताए। 'टाइपराइटरको आविष्कार हुनु ठूलो कुरा हो, आविष्कारकलाई धन्यवाद दिऊँ। तर, अहिलेको जमाना टाइपराइटरको होइन, कम्प्युटरको हो। उनले भने, 'टाइपराइटरलाई संग्रहालयमा सजाउने हो, अफिस लैजाने होइन।'
विवेकशील साझा पार्टीद्धारा भर्खरै नियूक्त भएका गण्डकी प्रदेश सँयोजक महेश भण्डारीले भनें- 'संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राखेर जिल्ला, नगर हुँदै स्थानिय स्तरसम्मको संगठन निर्माणको काममा पार्टी जुट्नेछ। स्थानिय विवेकशील साझाका कार्यकर्ताहरुसँगको निरन्तर भेटघाट र सरसल्लाहबाट संगठन बिस्तारको कामलाई अगाडि बढाइनेछ।'
गण्डकी प्रदेश पर्यटकीय हिसाबले बढि सम्भावना बोकेको प्रदेश भएकोले पर्यटनसम्बन्धि एजेण्डाहरुलाई आफूले विशेष रुचीसहित जनतामाझ ल्याउने भण्डारीले बताए। 'अझै पनि पर्यटनलाई लेकसाइडमा मात्र खुम्चाउने चलन व्याप्त छ। यो कुरालाई मैले राजनीतिक हिसाबबाट विस्तार गर्ने एजेण्डा अगाडि सार्नेछु।' उनले भने ।
त्यो सँगै उनले पोखरामा संरचना निर्माणको मापदण्डको विषय पनि उठाए। मापदण्डको उचित प्रयोग नहुँदा यहाँको सुन्दरता दिनप्रतिदिन बिग्रँदै गएको प्रति उनले चिन्ता व्यक्त गरे। त्यो सँगै ताल अतिक्रमणको कुरा बाहिर आएपनि नदि अतिक्रमणको कुरा कसैले बोल्न नसकेको भन्दै उनले त्यसलाई सतहमा ल्याउने बताए।
गण्डकी प्रदेशको अभिमुखिकरण प्रशिक्षण कार्यक्रम पश्चात लगत्तै विवेकशील साझाको यस्तै प्रकारको प्रशिक्षण कार्तिक १३ र १४ गते क्रमशः हेटौंडा र चितवनमा संपन्न हुन गइरहेको जानकारी प्रवक्ता डा. सूर्यराज आचार्यले दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४