पोखरा- तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ ।
पछिल्लो समयमा फूलखेतीले पोखरा र आसपासका क्षेत्रमा व्यावसायिक रुप लिइसकेको छ । कास्कीका पोखरासहित भरतपोखरी, सिसुवा, लामाचौर, हेमजा, बाटुलेचौर लगायतका क्षेत्रमा व्यावसायिक रुपमा फूलखेती गरिँदै आएको छ । तिहारको समयमा पोखरामा लगभग रु एक करोड मूल्य बराबर फूलको कारोबार हुने गर्छ ।
यसवर्ष तिहार आउनु झण्डै दुई साता अगावै फूल फूलेका कारण धेरै कृषकलाई चिन्तित बनाएको छ । फूलको व्यावसायिक खेती विकासका लागि पोखरामा पुष्प परामर्श केन्द्र सञ्चालनमा ल्याइए पनि कृषकले त्यसको उपयोग गर्न नसक्दा समस्या भएको फ्लोरीकल्चर एशोसिएसन नेपाल कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्वारले बताए ।
“कास्कीमा फूलखेतीतर्फ केही वर्षयता कृषकको आकर्षण बढ्दै गएको छ,” उनले भने, “तिहारका लागि पात्रो नहेरी फूल लगाउँदा यसवर्ष धेरै कृषकका नर्सरीमा फूल फूलिसकेका कारण समस्या भएको छ ।” जिल्लामा फूलखेतीतर्फ कृषकको बढ्दो मोहले व्यवसायिकता लिँदै गएको र एशोसिएसनमा हालसम्म ३६ व्यवसायी आवद्ध भइसकेको उनले जानकारी दिए ।
तिहारलाई लक्ष्य गरी घरको प्रयोजनका लागि पनि फूल लगाउने प्रचलन बढेको पाइन्छ । यस पर्वमा कुकुर, गाई, गोरु जस्ता जनावरको पूजाका साथै घर आँगन गोठ आदिमा माला एवं तोरणमा पनि फूलको प्रयोग हुने भएकोले यसको अत्याधिक खपत हुने गर्दछ ।
पोखरामा तिहारमा ८० प्रतिशत फूल पोखरा र आसपासबाटै आउने गरेको र २० प्रतिशत भारतबाट आयात गर्ने गरिएको द्वारले बताउनुभयो । तिहारका लागि गाउँगाउँमा सयपत्री फूल लगाउने क्रम वर्षेनी बढिरहेको ओमबुद्ध नर्सरी पृथ्वीचोककी सञ्चालिका नरमाया प्रसाईं बताउँछन् । “तिहारमा धेरैले घरमै फूलाएको माला लगाउने गर्दछन्, यसवर्ष हाम्रो नर्सरीबाट सयपत्री फूलको मात्रै २२ हजार बिरुवा बिक्री भएको थियो,” उनले भने । तिहारका साथै दशैं शुरु भएपछि नै बजारमा फूलको माग बढ्ने गरेको उनको अनुभव छ ।
कास्कीमा पुष्प व्यवसायको विकासलाई लक्ष्य गरी २०६२ मा नै फ्लोरीकल्चर एशोसिएसन गठन भएको संस्थापक अध्यक्ष वसन्त बानियाँले बताए । शुरु शुरुमा एक दुईजना मात्रै व्यावसायिक रुपमा फूलखेतीमा लागे पनि पछिल्लो वर्षमा भने वर्षेनी उक्त सङ्ख्या बढ्दै गएको छ ।
फूलखेतीमा लाग्नेलाई आफूहरूले निरन्तर सहयोग एवं सल्लाह दिने गरेको भए पनि यसवर्ष धेरैले क्यालेण्डरलाई आत्मसात नगर्दा फूल चाँडो फूलेको उहाँको भनाइ छ । सयपत्री फूलको बिरुवा लगाएको ४५ दिनमा कोपिला निस्कन्छ । जमीन र वरपरको तापक्रमले फूल्ने क्रममा तीन चार दिन ढिलोचाँडो पनि हुन सक्छ ।
तिहारका लागि सयपत्री पोखरामा नै उत्पादन हुने भए पनि मखमली भने भक्तपुरबाट ल्याउने गरेको बानियाँले बताए । पोखरामा सयपत्री फूलको माला रु ३५ देखि रु ४० सम्ममा बिक्री हुने गर्दछ । मखमली फूल रु ४० को हाराहारीमा बिक्री हुन्छ । आगामी वर्षमा क्यालेण्डरलाई आत्मसात गरी फूलको खेती गर्न र सम्बन्धित विज्ञ एवं परामर्श केन्द्रमा सल्लाह लिन बानियाँले कृषकलाई सुझाव दिए । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४