बिहीबार, साउन ७, २०८३

महासंघ र कोरिया व्यवसायीबीच सयकार्य सम्झौता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने सम्झौता भएको छ । व्यवसायको विकासमा सहकार्य गर्ने उद्देश्यले मंगलबार एक समारोहकाबीच राजधानीमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

नेपाल उद्योग वाणिज्य महासंघ र दक्षिण कोरियाको साना तथा मझौला व्यवसाय निगमबीच भएको उक्त समझ्दारी दुर्इ देशबीच कोशेढुंगा हुने बताइएको छ । समझादारीपत्रमा महासंघका कार्यवाहक अध्यक्ष शेखर गोल्छा र एसबीसी कोरियाका अध्यक्ष ली साङ जीकबीच हस्ताक्षर भएको हो ।
 
महासंघकाअनुसार समझादारी पत्रमा अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान, आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि लगायत उल्लेख छ । 

यसबाट समग्रमा साना तथा मझौला व्यवसायलाई युग सुहाउँदो रूपमा विकास गरी त्यस मार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । 

समझदारीपत्रमा यसका उद्देश्य, सहयोगका क्षेत्र, समन्वय गर्ने अधिकारीको व्यवस्था, कार्यान्वयन इकाई, वित्तिय व्यवस्थापन लगायत गरी १५ वटा दफाहरू समेटिएका छन् । 

साना उद्यमीहरूलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिने, दुवै देशमा अवलम्वन गरिएका नीति तथा कानुन, प्रविधि, ज्ञान, शीपको आदान प्रदान, बजार प्रवद्र्धन, विद्यमान ऐन कानूनलाई समय सान्दर्भिक रूपमा संशोधन गर्न आ–आफ्ना सरकारलाई अनुरोध गर्ने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ । 

त्यसैगरी समझदारीपत्रमा दुवै सँस्थाको वेभसाइटमार्फत साना तथा मझौला व्यवसाय सम्बन्धी सूचना तथा जानकारी आदान प्रदान गर्ने, एकअर्का देशमा आयोजना हुने व्यापार मेलामा साना तथा मझौला व्यवसाय सम्बन्धी विशेष प्रर्दशनीको प्रवन्ध गर्ने, यस सम्बन्धमा छलफल अन्तरक्रिया आयोजना गर्ने, साना मझौला उद्यमी व्यवसायीहरूको अध्ययन भ्रमणको व्यवस्था समयसमयमा मिलाउने, दुवै देशले अवलम्वन गरेका प्रविधिहरूका विषयमा जानकारी सहित प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने लगायत उल्लेख छ । 

पर्याप्त वित्तिय पहुँचको अभाव, न्यून उद्यमशीलता, तालिम तथा व्यवसाय शुरु गर्ने जानकारीको अभाव, बजार प्रर्वद्धन तथा संस्थागत विकास हुन नसक्नु नै नेपालमा साना तथा मझौला व्यवसायले भोग्नु परेका प्रमुख समस्या रहेकामा उक्त सम्झौता कोशेढुंगा सावित हुने विश्वास गरिएको  छ । 

कार्यक्रममा नेपाल र कोरियाबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारको अथाह सम्भावना रहेपनि दुवै देशबीचको व्यापारको आकार भने सानो रहेको भन्दै सहकार्यले व्यापार प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास उद्योगिहरुले गरेका छन् । 

महासंघमा रहेको तथ्यांकअनुसार आर्थिक वर्ष सन् ०१६/१७ मा नेपालको कोरियासँग ८२.६ मिलियन अमेरिकी डलर बरावरको ब्यापार घाटा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्