काठमाडौं- करिब साढे तीन महिनाको अथक मेहनतपछि कोकाहा खोलाको पानी धरान आइपुगेको छ। वर्षको झन्डै ६ महिना काकाकुलको नियति भोगिरहेका धरानबासीका लागि यो ठूलो खुसीको कुरा हो।
एक वर्षअघि स्वतन्त्र उम्मेदवारी दिएर धरान उपहानगरपालिकाको मेयर निर्वाचित भएका हर्क साम्पाङ राईले कोकाहाको पानी ल्याएर धरानबासीलाई खुवाउने बाचा गरेका थिए। उनले त्यो बाचा पूरा गरेका छन्। धरानबासीले दिनरात श्रमदान गरेर उनलाई सफल बनाएका छन्। स्वदेश र विदेशका हजारौं दाता र संघसंस्थाले करिब चार करोड रुपैयाँभन्दा बढी रकम पनि सहयोग गरे। खानेपानीकै लागि भनेर दाताहरूले रकममात्र नदिएर जिन्सीको रुपमा लाखौं रुपैयाँको पाइपसमेत खरिद गरेर दिएका छन्।
कोकाहाको पानी धरानमा खसेपछि उनले सामाजिक सञ्जालमा लेखे- म एउटा सानो मान्छेको कोकाहा ल्याउने सपना पूरा गर्न ९९ दिनसम्म हजुरहरुले गर्नुभएको साथ र सहयोगप्रति आभारी छु। प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने लाखौं जनतालाई धन्यवाद बाहेक केही दिन सक्दिनँ। यहाँहरुको माया र साथको लागी सधै आभारी रहनेछु!'
सोमबार राति धरानमा पानी आइपुग्दा उनी भक्कानिए। कोकाहाको पानी नखसालेसम्म धरान आउदिनँ भनेर तीन दिनदेखि फिल्डमै व्यस्त थिए मेयर। करिब ४० किलोमिटर दूरी पार गरेर कोकाहाको पानी सोमबार मध्यराति १२ बजे धरानमा खसेको थियो।
म एउटा सानो मान्छेको कोकाह ल्याउने सपना पूरा गर्न ९९ दिनसम्म हजुरहरुले गर्नुभएको साथ र सहयोग प्रती आभारी छु।
— Harka Sampang A Revolution (@mayor_harka) June 12, 2023
प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने लाखौ जनतालाई धन्यवाद बाहेक केही दिन सक्दिन,
यहाँहरुको माया र साथको लागी सधै आभारी रहनेछु !??? pic.twitter.com/sIrzN3Kc1N
मेयर आइतबार रातिदेखि पटनाली क्षेत्रमै पाइप जोड्न र तान्नमा व्यस्त थिए। श्रमदान अभियानमार्फत पाँच इन्चको पाइपमार्फत कोकाहाको पानी ल्याउन सफल भएपछि मेयर भावुक भए, रोए अनि स्वदेश र विदेशका दाता, संघसंस्था, श्रम अभियानमा संलग्नहरूलाई आभार व्यक्त गरे। यो पानीले धरानका खानेपानी उपभोक्तालाई तत्कालका लागि राहत हुने अपेक्षा गरिएको छ।