जनकपुरधाम- सरोकारवाला निकायले चासो दिन नसक्दा धनुषाको विभिन्न स्थानमा चोरी गरेर विद्युत प्रयोग गर्ने कार्य बन्द हुन सकेको छैन्। प्रमुख सरोकारवाला निकाय नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरले प्रभावकारी योजना ल्याउन नसकेपछि विद्युत चुहावट नियन्त्रण हुन नसकेको हो।
ग्रामीण भेगसहित धनुषाको सदरमुकाम जनकपुरमा समेत विद्युत चुहावटको समस्या देखिएको छ। विद्युत चुहावट नियन्त्रण हुन नसकेपछि लोडसेडिङ्ग मुक्त घोषणा भइसकेपनि जनकपुरमा पटकपटक बत्ति जाने समस्या उपभोक्ताहरुले भोग्ने गरेका छन् ।
विद्युत चुहावटको यस्तै समस्या देखिएको छ, धनुषाको नगराईन नगरपालिका–५ गंगुलीमा। विद्युत प्राधिकरण वितरण केन्द्रभन्दा ३-४ किलोमिटरकै दुरीमा खुल्याम विद्युत चोरी भइरहँदा समेत प्राधिकरणले रोक्न सकेको छैन्।
गंगुलीका केही स्थानीयले आफै बाँसको पोल बनाइ मुख्य लाइनबाट विद्युत उपभोग गर्दै आइरहेका छन्। उनीहरुले बाँस प्रयोग गरी मुख्य लाइनबाट आ–आफ्नो खेतबारीसम्म विद्युत पुर्याएका छन्।
एक स्थानीयका अनुसार बाँसको प्रयोग गरेर मुख्य लाइनबाट तार जोडेर खेतबारीसम्म पुर्याइएको विद्युत चोरेर दिनरात मोटर प्रयोग हुँदै आएको छ। अवैध रुपमा विद्युत प्रयोग हुँदै आएको घटनाबारे प्राधिकरणलाई जानकारी गराउँदा समेत कुनै कारबाही नभएको उनको भनाइ छ।
प्राधिकरणबाट आफैले बाँसको पोल गाडेर विद्युत प्रयोग गर्नु गैरकानुनी त छँदैछ साथै जोखिमयुक्त पनि उनको भनाइ छ।
यता विद्युत प्राधिकरण वितरण केन्द्रले भने विद्युत चुहावट धेरै हदसम्म नियन्त्रणमा रहेको दाबी गरेको छ। विगतका वर्षहरुको तुलनामा विद्युत चुहावट धेरै मात्रामा नियन्त्रणमा आएको प्राधिकरणका इन्जिनियर प्रवीण मिश्रले बताए । दुई वर्षपूर्व ५० प्रतिशतभन्दा बढी विद्युत चुहावट अहिले ३८ प्रतिशतमा झरेको मिश्रले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४