सर्लाही : सर्लाहीको रामनगरमा नेकपा र कांग्रेसबीचको झडपमा गोली चलेको छ। गोली लागेर कांग्रेसका स्थानीय कार्यकर्ता रामिविलास महतोको मृत्यु भएको छ। कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा महतोको मृत्यु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले पुष्टि गरेका छन्।
नेकपाका कार्यकर्ताले हतियार सहित आक्रमण गर्दा नेपाली काँग्रेसका १ कार्यकर्ताको ज्यान गएको छ भने ७ जना घाइते भएको सर्लाही कांग्रेसले जनाएको छ। घाइते हुनेहरुमा सोही वडाका महादेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतो रहेका छन्।
मंगलबार बिहान ७ वजे करिब २ सयको संख्यामा हतियारसहित आएका नेकपाका कार्यकर्ताले कुटपिट गरेर गोली चलाउँदा वडा नं ४ का अध्यक्ष रामनरेश महतोको काका ५५ वर्र्षीय महतोको मृत्यु भएको सर्लाहीका सांसद अमरेसकुमार सिंहले नेपाल समयसँग बताए ।विलासको मुख र पेटमा गोली लागेको छ।
सर्लाहीको रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतोमाथि एक समूहले सोमबार वडा कार्यालय जाँदै गर्दा आक्रमण गरेका थिए। आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको थियो। उनको बायाँ खुट्टा भाँच्चिएको छ। उनको सर्लाही अस्पताल मलगंवामा उपचार भइरहेको छ। स्थानीय श्रीनारायण राय र धरमेन्द्र साहको नेतृत्वमा आएका व्यक्तिले आक्रमण गरेको उनले बताए। आक्रमणकारीले वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकसमेत तोडफोड गरेका छन्।
उनको साथमा रहेको नगद, मोबाइल र सुनसमेत लुटेर लगेको घाइते महतोले बताए। उनी नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। घटनामा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेकपाका कार्यकर्ताले घाइते लिन गएको एम्बुलेन्समाथि समेत उनीहरुले तोडफोड गरेकाले घाइतेलाई उपचारमा लैजान समस्या परेको प्रदेश सांसद सिंहले जानकारी दिए। तोडफोडको क्रममा १० वटा घरमा समेत क्षति भएको छ। यति ठूलो घटना हुदा पनि प्रहरीले आरोपीलाई पक्राउ नगरी संरक्षण गरेको स्थानीयले आरोप लगाएका छन्। यो घटनामा प्रहरीको समेत कमजोरी देखिएको सांसद सिंहले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४