इटहरीः सप्तकोशी नदीको किनारमा भएको फोहोर नियन्त्रण गर्न स्थानीय सरकारले कडाई थालेको छ । घुमफिर गर्ने र मलामी जानेले सप्तकोशी किनारमा फालेको फोहोर यतिबेला बढ्न थालेपनि नियन्त्रणका लागि स्थानीय सरकारले काम थालेको हो ।
सप्तकोशी नदी र वरपरको क्षेत्र सफा बनाउने अभियान लिएको बराहक्षेत्र नगरपालिकाले कोशी किनारको फोहोर व्यवस्थापन गर्न उचित नीति बनाउने काम अभि बढाएका नगरपालिकाका मेयर निलम खनालले बताए ।
सप्तकोशी किनारका विभिन्न स्थानमा फोहोर सङ्कलन गर्न ठुला डस्टबिनहरु राख्ने तयारी गरेको भन्दै मेयर खनालले डस्बिनमा नफालेर नदी किनारमा फोहोर फाले कानुनी कारबाही गरिने बताए ।
नेपाल समयसँग कुराकानीमा मेयर खनालले भने, ‘फोहोर व्यवस्थापनमा केही अभियानहरू चले पनि प्रभावकारी कार्यान्वयन भएन । अब नगरकार्यपालीकाले नीति नै बनाएर फोहोर व्यवस्थापन गर्छ।’
बालुवा हैन फोहोरको किनार बन्दै
नेपालको सबैभन्दा ठुलो र विश्वको सबैभन्दा धेरै बालुवा बोक्ने दोश्रो ठुलो नदीका रुपमा चिनिएको सप्तकोशी किनार अहिले फोहोरको किनार बनेको स्थानीयको गुनासो छ ।
सुनसरीको बराहक्षेत्र नगरपालीकाले तेह्रआर्डि, प्रकाशपुर, राजाबास, चतरा र कोशी पुल आसपासमा अत्याधिक फोहोर बढेको छ। सप्तकोशी किनारका चतरा घाट, प्रकाशपुर घाट, राजाबास घाटमा मलामि आएकाहरुले खाजाहरु खाएर फोहोर व्यवस्थापन नगरी हिड्ने कारणले सप्तकोशीको किनारमा फोहोर बढेको हो ।
सुनसरी र उदयपुरको सिमाना भएर बग्ने सप्तकोशीको सुनसरीतर्फ बढि फोहोर देखिन्छ । यसका साथै, चतरा र उदयपुर जोड्ने कोशी पुल पारिको उदयपुर जिल्लामा पर्ने बेलका नगरपालीका क्षेत्रमा पनि पछिल्लो समयमा फोहोर बढ्न थालेको छ।