काठमाडौं : बहुराष्ट्रिय कम्पनी कोकाकोलाले उत्पादन विस्तार गर्न विश्वस्तरिय प्रविधि नेपाल भित्र्याउँदै छ। कोकाकोला ब्राण्ड चीसो पेय उत्पादन गर्दै आएको बोटलर्स नेपाल तराई लिमिटेडले ७ सय ६६ बोतल प्रतिमिनेट उत्पादन क्षमताको नयाँ प्लान्ट थप्न लागेको हो ।
जर्मनीको केएचएस कम्पनीद्वारा उत्पादित बोइंग ७६६ बोटलिङ प्लान्ट नेपालमा पहिलो हो ।नयाँ प्लान्टबाट २५० मिलिलिटर ( एमएल) को पेट बोटलमा कोकाकोलाका विभिन्न ब्राण्डका पेय उत्पादन गरिने सम्बद्ध श्रोतले जानकारी दिएको छ । चितवनको भरतपुरमा अवस्थित बोटलर्स तराईसँग अहिले ३०० बोटल प्रतिमिनेट उत्पादन क्षमताको प्लान्ट प्रयोगमा रहेको छ।
कोकाकोलाले पेय पदार्थको बोटलिङ र हलुका वजनको बलियो बोटल उत्पादन सम्बन्धी अनुसन्धानका लागी केएचएससँग प्राविधिक सहकार्य समेत गर्दै आएको छ।
नेपाली बजारमा पेय पद्धार्थको बजार उत्साहजनक रुपमा वृद्धि भइरहेकोले कोकाकोलाले बजार बिस्तार गर्न थप लगानी गरेको हो ।गत आर्थिक वर्षमा बोटलर्स नेपाल तराईले ४२ प्रतिशत र बोटलर्स नेपाल(बालाजु) ले ३४ प्रतिशतले नाफा वृद्धि गरेको थियो । लगानी प्रवध्दन बोर्डका अनुसार स्वदेशी बजारमा दैनिक उपभोग्य वस्तुको बजार वृद्धिदर वार्षिक २० प्रतिशत छ।
नयाँ प्लान्टको लागी स्टान्डर्ड चार्टर्ड बैंकबाट २ अर्ब ८५ करोड रुपैयाँ आवधिक ऋण लिने प्रस्तावलाई १६ असोजमा सम्पन्न बोटलर्स तराईको साधारण सभाले अनुमोदन गरिसकेको छ। बालाजुस्थित औद्योगिक क्षेत्रमा ठाउँ साँघुरो हुँदै गएकोले बालाजुमा उत्पादन लाइन विस्तार र भण्डारण गर्न असहज छ।
भरतपुरमा नयाँ बोटलिङ लाइनको जडान सम्पन्न गरेर आगामी चैत महिनासम्ममा उत्पादन शुरु गर्ने लक्ष्य रहेको उद्योग सम्बद्ध श्रोतले जानकारी दिएको छ।
चिसो पेय बजारको अर्को ठूलो खेलाडी वरुण वेभरेजले पेप्सी उत्पादनको लागी तराईमा २ अर्ब ३९ करोड करोड रुपैयाँ लगानीमा केही महिना अघि मात्र नयाँ प्लान्ट संचालनमा ल्याएको छ।
काठमाडौंको पेप्सीकोलामा मात्र प्लान्ट रहेकोमा वरुणले वितरण प्रभावकारी बनाउँदै बजार बिस्तार गर्न नवलपरासीको रामग्राममा उद्योग स्थापना गरेको हो । उद्योग विभागका अनुसार पेप्सीको यो प्लान्टको क्षमता शिशाको बोटलमा वार्षिक अवधिमा ६४ हजार ८०० किलोलिटर र प्लाष्टिक (पेट) बोटलमा दुई लाख ४३ हजार किलोलिटर छ । एक हजार लिटर बराबर एक किलोमिटर हुन्छ । वेभरेजले नेपालमा पेप्सी, मिरिन्डा, माउन्टेन डिउलगायत ब्राण्डमा पेय पदार्थ उत्पादन गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४