काठमाडौं- नेपाली कांग्रेसमा देखिएको आन्तरिक लडाइको छिनोफानो अब महासमिति बैठकमा हुने भएको छ।
५-९ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा हुने महासमिति बैठकमा संस्थापन र असन्तुष्ट दुवै पक्षले आआफ्नो रणनीतिका साथ तयारी थालेका छन्। पार्टीको आन्तरिक द्वन्द्वको आधारभूत कारणको रुपमा देखिएको विभाग र समिति गठन तथा नेपाल विद्यार्थी संघको महाधिवेशनलाई थाँती राखेर सबैको ध्यान यतिबेला महासमितितिर लक्षित छ।
पार्टीमा आन्तरिक सुधार तथा पुनरसंरचनाको काम नभएको र संगठन ध्वस्त भएको मुद्दालाई उचालेर देउवा पक्षलाई दबाब दिने योजनामा असन्तुष्ट पक्ष जुटेको छ भने संस्थापन पक्ष बचाउको रणनीति तय गर्दैछ। सभापति शेरबहादुर देउवाले काठमाडौं, ललितपुर र भक्तपुरका पार्टी जिल्ला सभापतिलाई बोलाएर महासमिति बैठकस्थलको व्यवस्थापनको जिम्मेवारी दिइसकेका छन्।
कांग्रेसको ९ भदौको केन्द्रीय कार्य समिति बैठकले ५-९ मंसिरमा महासमिति बैठक गर्ने निर्णयसँगै बैठकमा पेश हुने प्रतिवेदन तयार गर्न पदाधिकारीहरुलाई जिम्मेवारी समेत दिएका थिए।
सभापति देउवाको संयोजकत्वमा महासमिति बैठक मूल आयोजक समिति गठन गरिएको थियो । महासमितिको व्यवस्थापनको लागि देउवाले शनिबार मात्र काठमाडौं जिल्ला कार्य समिति सभापति सबुज बानियाँ (कृष्ण) को संयोजकत्वमा रहने स्थानीय व्यवस्थापन समितिसँग छलफल गरेका थिए।
'सबै समितिका संयोजकले काम गरिरहनु भएको छ', उपसभापति विमलेन्द्र निधिले नेपाल समयसँग भने 'अब १६ कात्तिकमा हुने चियापान कार्यक्रमपछि बस्ने केन्द्रीय कार्य समिति बैठकमा सबै समितिले तयार पारेको प्रतिवेशन पेश हुनेछ।' उपसभापति निधिको संयोजकत्वमा गठित १७ सदस्यीय राजनीतिक प्रस्ताव तयारी समितिले प्रतिवेदनलाई अन्तिम चरणमा पुर्याएको छ।
पार्टी केन्द्रीय कार्य समितिको २१ असोजमा भएको बैठकमा भातृ संस्था नेपाल विद्यार्थी संघले पारित गरेको विधानलाई प्रस्तुत नगरी बेग्लै प्रस्ताव पेश गरी आंसिक रुप मात्र पारित गरेकोमा बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले असहमति जनाउँदै निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए।
असन्तुष्ट नेताहरुले नेविसंघको बिधान पारित गर्ने प्रक्रिया नसच्चिएसम्म बैठकमा भाग नलिने चेतावनी दिएपछि तीन सातादेखि कांग्रेस केन्द्रीय कार्य समिति बैठक अनिश्चितकालको लागि स्थगित भएको थियो। असन्तुष्ट भनिएका नेताहरुको पार्टीको महासमिति बैठकको तयारी प्रति असन्तुष्टी नरहेको उपसभापति निधिले दाबी गरे।
पार्टी संस्थापन पक्षले नेविसंघको बिधानलाई अनुमोदन गर्ने, अनुशासन समिति र केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने प्रस्तावलाई केन्द्रीय कार्य समिति बैठकमा पेश गर्ने योजना बनाएको थियो। तर, असन्तुष्ट नेताहरुले असहमति जनाएपछि सभापति देउवा आफ्नो प्रस्ताव अघि सार्नबाट पछि हटेका थिए।
उपसभापति निधि आगामी ५-९ मंसिरमा हुने महासमिति बैठकको तयारी गम्भिरतापूर्वक भइरहेको बताए। उनले महासमिति बैठकको व्यवस्थापन र आयोजनाप्रति अनुसन्तुष्ट नेताहरुको बिरोध नभएको बताए। 'पार्टीको अहिलेको सर्वोपरी र प्राथमिकताको बिषय नेविसंघको महाधिवेशनभन्दा महासमिति बैठक नै हो' उपसभापति निधिले भने, 'सबै समितिले प्रस्ताव तयार गरिरहेका छन्।
सबै समितिले महासमितिलको लागि पेश गर्ने प्रस्तावको मस्यौदा तयार गरिरहेको बताए पनि पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी केन्द्रीय कार्य समिति बैठकमा पेश हुने प्रतिवेदन र नेतृत्वको व्यवाहारले मात्र महासमिति बैठक हुने नहेने बिषय निर्धारण हुने बताए।
महासमितिमा पेश हुने हरेक बिषय पार्टीको केन्द्रीय कार्य समितिले स्वीकार गर्नु पर्ने हन्छ। केन्द्रीय समितिले पारित गरेका प्रस्तावहरु मात्र महासमिति बैठकमा पेश गर्न पाइन्छ। महासमिति बैठकमा पेश गरिएका हरेक प्रस्ताव दुई तिहाई बहुमतबाट पारित गरिएमा मात्र लागू हुन्छ।
असन्तुष्ट नेतादेखि संस्थापन पक्षका नेताहरुको ध्यान यतिवेला महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान शंशोसन मस्योदा समतिमा गएको छ। 'पार्टी बिधानको मस्यौदाले अन्तिम रुप पाएको छैन। त्यसले दिएको प्रतिवेदनले सबै पक्षलाई समेट्न सक्यो भने मात्र महासमितिमा पेश हुने र पारित हुने सम्भावना रहन्छ', नेता केसीले भने, 'केन्द्रीय कार्य समितिमा बहुमतको आधारमा विगतमा जस्तै पेलेर जाने नेतृत्वले शैली देखाएमा त्यस्तो विधान महासमितिमा दुई तिहाईबाटा परित हुनै सक्दैन।'
केसीले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र अन्य प्रतिवेदन तयार भएको थाहा नभएको वताए। उनले पार्टी केन्द्रीय समितिमा पेश हुने प्रतिवेदन नेतृत्वले सबैलाई समेटेर लैजाने उदेश्य राखेरमा दुइ दिनमै तयार हुने दाबी गर्छन्।
यस पटक कांग्रेसले महासमिति बैठक खुल्ला आकाशमा टाँगिने पाल मुनि गर्ने योजना बनाएको छ। भृकुटीमण्डपस्थित बगैंचामा टेण्ट टाँगेर महासमिति बैठक चलाइने उसभापति निधिले जानकारी दिए। यस पटक महासमिति भाग लिने करिव १२ देखि १४ सय महासमिति प्रतिनिधिहरुलाई काठमाडौमा बस्न र आउने तथा जाने यातायात खर्चको व्यवस्था आफै गर्न परिपत्र गरेको छ।
पार्टीले महासमिति बैठकमा भाग लिन आउने प्रतिनिधिहरुलाई बिहान बेलुकी खाना, बिहानको खाजा र दिउँसो चियाको मात्र व्यवस्था गर्ने भएको छ। यस्तो व्यवस्था गरिनुलाई कमजोरी भएको नेता केसीले बताए। तर, उपसभापति निधि भने विगतमा पार्टीले बस्नको लागि व्यवस्था गरिदिएको कतिपय लजमा प्रतिनिधिहरु नबसेको र अधिकांस प्रतिनिधिहरुको उपत्यकामा बस्ने प्रवन्ध गर्ने गरेको जनाए।
महासमिति बैठकमा पेश गरिने बिधान सशोधनको मस्यौदा कस्तो आउँछ भन्ने बिषयमा समिति भित्रै मतैक्य पाइँदैन। त्यस्तो विधानको मस्यौदा केन्द्रीय कार्य समितिमा पेश गरिए पनि पारित नहुने निश्चित छ। केसीले सहमतिबाट अघि बढेमा बिधान पारित हुने नत्र महासमितिले अश्विकृत गर्ने बताउँछन्।
महासमिति बैठकमा पार्टीको तर्फबाट प्रतिनिधि भएकावाहेक गत बर्षदेखि हालसम्म कांग्रेसमा प्रवेश गरेका अन्य नेता तथा अन्य पार्टीका नेता कार्यकर्तालाई समेत समेटिने भएको छ। उपसभापति निधिले संसदीय दलका उपनेता समेत रहेका विजयकुमार गच्छदार नेतृत्वमा कांग्रेसमा आएकाहरुलाई 'सम्मानजनक र उपयुक्त रुपले सहभागिताको बन्दोवस्त' गरिने बताए। नेता केसीले भने पार्टी एकीकरणमा भएका सहमति र पार्टी केन्द्रीय कार्य समिति बैठकले गरिएको निर्णय कार्यान्वयन गर्नु पर्ने बताए। उनले सम्झौदा कार्यान्वयन गर्न भनेर गच्छदारलाई देखाएर अन्यलाई छिराउन नपाईने बताए।
पार्टीले महामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा १३ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन भइसकेको छ।
कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन र सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा पार्टीको समग्र आर्थिक नीति मस्यौदा समिति गठन भइसकेको छ।
पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल मित्र राष्ट्र भारतको धार्मिक भ्रमणमा छन भने अर्का नेता कृष्णप्रसाद सिटौला पनि मुलुकबाहिर रहेका छन्। पौडेलले १२ गते र सिटौलाले १४ गतेतिर मात्र काठमाडौं आउने भनेकोले केन्द्रीय कार्य समिति बैठक १६ कात्तिकमा राखिएको निधिले बताए।
केन्द्रीय कार्य समितिको बैठकमा महासमिति बैठकको लागि आवश्यक पर्ने प्रस्ताव र प्रतिवेदनमाथि नै छलफल केन्द्रीत हुने भएको छ। कांग्रेसको ९ चैतदेखि १६ बैशाखसम्म चलेको केन्द्रीय समिति बैठकले भदौमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो। पछि ९ भदौको केन्द्रीय कार्य समिति बैठकले ५देखि ९ मंसिरमा काठमाडौंमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो।
पार्टीले महासमिति बैठक हुने मिति घोषणा गर्नु अघि नै ७ भदौमा महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो। हरेक दिनजसो बैठक बसेर समितिले धमाधम काम गरिरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४