बिहीबार, साउन ७, २०८३

नेपालका २२ लाख युवा मानसिक रोगी, किन बढ्दैछ समस्या ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ललितपुर- एकोहोरो टोलाउने र पढाइमा ध्यान नदिएको भन्दै एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक युवकलाई उनको अभिभावकले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पुऱ्याए।

उपचारका क्रममा उनी कडा खालको मानसिक रोगबाट पीडित भएको पत्ता लाग्यो। केन्द्रका मनोचिकित्सक डा.पशुपति महतले अभिभावकलाई उनलाई नियमित र समयमा औषधि खान सल्लाह दिए।

अभिभावकले विभिन्न खालको उपचार गर्दासमेत रोग पत्ता नलागेपछि मानसिक रोगको अनुमान गरेको डा. महतले बताए।

उनले भने,‘अहिलेसम्म लक्षणका आधारमा अभिभावकले सन्तानलाई मानसिक रोग लागेको छुट्टाउन सक्दैनन्।’ अध्ययन र ‘करियर’ मा ध्यान दिनुपर्ने उमेरमा धेरै युवा मानसिक रोगका पीडित छन्। देशभरमा कति मानसिक रोग पीडित छन् भन्ने एकीकृत तथ्यांक छैन।

स्वास्थ्य मन्त्रालयले केही समय अघिबाट मात्रै तथ्यांक संकलन गर्न थालेको छ। मनोचिकित्सक र मानसिक रोग विशेषज्ञसम्म आउने बिरामीका आधारमा युवामा यो समस्या बढेको देखिएको हो।

परिवारको मात्रै नभएर देशको समेत भविष्य निर्धारण गर्ने युवा मानसिक रोगका कारण कुनै पनि काम राम्रोसँग गर्न नसक्ने अवस्थामा रहेको डा. महतले बताए। समयमा उपचार नहुँदा सामान्य समस्यासमेत कडा खालका मानसिक रोगमा परिवर्तन भइसक्छ।

उनले भने, ‘आफ्ना सन्तानलाई मानसिक रोग लाग्दा समयमा नै उपचार गराउनुपर्छ भनेर अभिभावकलाई सूसुचित गर्न खाँचो छ।’

आफूभित्र रहेको चिन्ता व्यक्त गर्न नसक्दा कतिपय युवाले आत्महत्यासमेत गरिरहेका छन्। कतिपय युवा भने चिन्ता कम गर्नकै लागि भन्दै लागूऔषध र मदिराको कूलतमा फसिरहेका छन्।

अझैसम्म आम नागरिकले सडकमा बेवारिसे भएर हिँड्नेलाई मात्रै मानसिक रोगी मान्ने गरेको डा. महतले बताए।

आफ्नो छोराछोरी असामान्य व्यवहार देखाइरहेको छ कि छैन भन्ने कुरा अभिभावकले नै ध्यान दिनुपर्ने उनले बताए। रोग हो भन्ने बुझेका अभिभावक स्वास्थ्य संस्थामा लैजानुभन्दा धामी, झाँक्री कहाँ जाने गरेका छन्।

देशभरमा कति मानसिक रोगी छन् भन्ने एकीकृत तथ्यांक नभए पनि झन्डै २२ लाख युवा यो रोगबाट पीडित भएको अनुमान गरिएको टिचिङ अस्पतालमा कार्यरत मनोचिकित्सक डा. सरोज ओझाले बताए। नेपालमा मात्रै नभएर धेरै विकासोन्मुख देशमा मानसिक रोगीको संख्या बढ्दै गएको छ।

उनले भने, ‘ग्रामीण क्षेत्रमा धेरैले यो रोगको उपचार हुन्छ भन्नेसमेत जानकारी नभएर रोग पालेर बसिरहेका छन्।’

नेपालमा वैदेशिक रोजगारीका कारण पनि धेरै खालका मानसिक समस्या बढेको डा.ओझा बताउँछन्। वैदेशिक रोजगारीमा गएका व्यक्ति र उनको परिवारमा समेत अनेक मानसिक समस्या देखिइरहेका छन्।

श्रीमान विदेश गएपछि श्रीमती हरेक दिन फोन कुर्ने र नआउँदा वा सम्बन्धमा समस्या आउँदा त्यसले चिन्ता बढाउने गर्छ। श्रीमान वैदेशिक रोजगारीमा जाँदा श्रीमतीमा धेरै खालका मानसिक समस्या देखिने गरेका छन्। उनले भने, ‘एकातिर श्रीमानसँगको सम्बन्ध सुमधुर नहुनसक्छ भने एर्कातिर सन्तान र परिवारको जिम्मेवारीसमेत थपिन्छ।’

इन्टरनेटलगायतका प्रविधिले पनि धेरै खालका मानसिक समस्या बढाएको छ। भूकम्पका समयमा भएका क्षतिले पनि धेरैमा मानसिक समस्या बढेको पाइन्छ। मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्था ‘अब्बल उइ’ का निर्देशक विजया विजुक्च्छे धेरै युवाले आफूभित्र रहेको समस्या गुम्साएर राख्दा त्यही समस्या मानसिक रोगमा परिणत हुने गरेको बताउँछन्।

साधारण कुरालाई असाधारण मानेर चिन्ता गरिरहँदा त्यही समस्याले विकराल रूपलिन्छ। आफूलाई मानसिक रोग लागेको व्यक्तिले पनि थाहा नपाउने र परिवारका सदस्यलाई पनि थाहा नहुँदा त्यसैले ठूलो रूप लिएको हो। उनले भने, ‘सानो समस्या हो भनेर बुझ्ने र समयमै उपचार गर्न आम नागरिकलाई बुझाउन खाँचो छ।’

नेपालमा मानसिक रोग विशेषज्ञ १५० जना र मनोवाद झन्डै ३० जना छन्। सबै सरकारी अस्पतालमा मानसिक रोग विशेषज्ञको भने दरबन्दी छैन। विद्यालय र कलेजका पाठ्यपुस्तकमा समेत मानसिक रोगका बारेमा उल्लेख हुनुपर्ने यस क्षेत्रमा कार्यरत विज्ञले माग गर्दै आएका छन्। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।