काठमाडौं– नगरकोटमा घुम्न जाने पर्यटकले जथाभावी कर उठाएको भन्दै आन्दोलन थालेका छन् । स्थानीय तहले नगरकोट आउने पर्यटकका नाममा जथाभावी कर उठाउन थालेपछि व्यवसायीले आन्दोलन थालेका थिए । व्यवसायीको आन्दोलनलाई अहिले पर्यटकले पनि साथ दिएका छन् ।
नगरकोट घुम्ने पर्यटकमाथि चाँगुनारायण नगरपालिका र मन्दनदेउपुरी नगरपालिकाले छुट्टाछुट्टै कर लिन थालेपछि पर्यटन व्यवसायी तथा घुम्न पुगेका पर्यटक पनि आन्दोलन गर्न बाध्य भएको नगरकोटमा काम गर्दै आएका सेफ लालबहादुर तामाङले बताए ।
नगरकोट घुम्न जाने एक जना पर्यटकमाथि चाँगुनारायण नगरपालिका तीन सय र मदनदेउपुर नगरपालिकाले पनि तीन सय ३९ रुपैयाँ असुल्न थाले पछि पर्यटकमा नकारात्मक सन्देश जाने भन्दै व्यवसाी आन्दोलनमा उत्रिएका हुन् ।
दोहोरो करको मारमा परेका कारण पर्यटकको संख्या घट्दै गएको भन्दै तामाङले यसलाई स्थानीय तहले पुर्नविचार गर्नुपर्ने बताए ।
पहिले नगरकोटमा चाँगुनारायण नगरपालिकाले मात्रै कर लिने गरेको भएपछि एक महिनाअघिदेखि मदनदेउपुर नगरपालिकाले पनि कर उठाउन थालेको हो ।
आईतबार नगरकोटमा गरिएको बिरोध कार्यक्रममा व्यवसायी, मजदुर तथा पर्यटको उपस्थिति थियो । व्यवसायीले तत्काल दोहोरो कर फिर्ता नलिए सम्पुर्ण होटल व्यवसाय बन्द गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन्।
होटल व्यवसायीले जथाभावी कर लिने पनि सार्वजनिक संरचना निर्माणमा स्थानीय तहले कुनै चासो नदिएको आरोप पनि लगाएका छन् । काठमाडौंबाट नजिकमा रहेको पर्यटकीय गन्तव्य जाने बाटो सुधारमा कुनै चासो नदिएको स्थानीय तहले अनेक बाहनामा करमात्र उठाउने गरेको उनीहरुको आरोप छ ।
चिसो तथा शान्त वातावरण, हिमालयको मनोरम दृश्य तथा सुर्योदयको दृश्यावलोकनका लागि विदेशी तथा आन्तरिक पर्यटक नगरकोट पुग्ने गरेका छन् ।
सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेपनि वैज्ञानिक अवधारण बिनानै जथाभावी कर उठाउने प्रवृद्धिले सरकारको लक्ष्य नै पूरा नहुनेमा व्यवसायीले चिन्ता पनि जनाएका छन् ।
एक पर्यटकबाट दुर्इ स्थानीय तहले लिएको करको रसिद