जनकपुरधाम-प्रदेशको स्थायी राजधानी र नामाकरण टुंग्याउन प्रदेश २ सरकारले सुझाव समिति गठन गरेको छ । सरकार गठन भएको आठ महिनापछि सरकारले प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन आइतबार आयोग गठन गरेको हो ।
आइबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नीति आयोगकका उपाध्यक्ष डा. हरिवंश झा संयोजक रहने गरी तीन सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरको छ । सुझाव आयोगमा नीति आयोगका सदस्य मोहनलाल चौधरी र रामप्रवेश वैठा सदस्य छन् । आयोगका संयोजक झा धनुषा, वैठा रौतहट र चौधरी पर्सावासी हुन् ।
आयोगलाई प्रदेशका आठै जिल्ला पुगेर राजनीतिक दल, संघसंस्था तथा स्थानीयहरुसँग सुझाव संकलन गर्न म्यान्डेट दिइएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिएका छन् । आयोगलाई सुझाव संकलन गरेर ४५ दिनभित्र आफ्नो प्रतिवेदन पेशगर्न भनिएको यादवले बताए ।
आयोगले सुझाव संकलन गरेर दिने प्रतिवेदनको आधारमा प्रदेश सरकारले स्थायी राजधानी र नामाकरणको विधेयक प्रदेशसभामा लाने मन्त्री यादवले जानकारी दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४