बिहीबार, साउन ७, २०८३

मदिराले अपराध बढायो : गृहमन्त्री थापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–गृहमन्त्री रामबहादुर थापा बादलले अपराधको मुख्य स्रोत मदिरा र लागूऔषध रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयले भृकुटीमण्डपमा आयोजना गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री थापाले लागू औषधको कारोबार र अपराधको आधार मदिरा रहेको पाइएकाले यसलाई जरैबाट निर्मुल पार्ने बताए ।

‘समाजमा हत्या हिंसा जस्ता घटना बढ्नुको मुख्य कारण मदिरा र लागू औषध हो । हामी यसलाई जरै देखि उखेल्ने अभियानमा लागेका छौं,’ गृहमन्त्री थापाले भने, ‘मदिराकै कारण विद्यालय तहका बालबालिका बढी पीडित भएका छन् । यसको समाधानका लागि पनि सरकारले गृहकार्य थालेको छ ।’

समृद्ध नेपाल सुखी नेपाली स्थापनाका लागि दीगो शान्ति आवश्यक छ रहेको भन्दै गृहमन्त्री थापाले दीगो शान्ति स्थापनाका लागि पनि आइतबारदेखि शुरु भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् । 

‘नेपालमा शान्ति सुरक्षाको राम्रो व्यवस्था नभएकाले भनेजस्तो रोजगारी सिर्जना नहुँदा नेपाली युवा मुग्लान पस्नुपर्ने बाध्यता छ,’ मन्त्री थापाले भने, ‘अब हामी देशमा शान्ति सुरक्षा कायम गछौं र नेपाली युवालाई विदेश पलायन हुने अवस्था आउन दिँदैनौं । '

त्यसैगरी गृहसचिव प्रमेकुमार राइले विकास र समृद्धिको पहिलो आधार नै शान्ति सुरक्षा रहेको बताए। समृ्द्ध नेपाल र सुखी नेपालीको नारालार्इ सार्थक बनाउन सुव्यवस्था हनुपर्ने औंल्याउँदै भने, 'प्रहरी र समुदायको सहकार्यबाट नै उक्त लक्ष्य हासिल गर्न सकिन्छ। प्रहरीले समाजमा हुने अपराध न्यूनीकरण गर्दै समृद्ध देश निर्माण गर्ने लक्ष्यका साथ ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ल्याएको बताए। 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी र नागरिकबीच सहकार्य र समन्वयको आवश्‍यकता औंल्‍याए। लक्ष्‍य हासिल गर्नका लागि जनशक्तिभन्दा पनि इच्छाशक्ति मुख्य विषय भएको बताए। 

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्‍यले हरेक सुखदुखमा प्रहरी आवश्यक पर्ने भएकोले आफ्नो तवरबाट सबैले सहयोग गर्नुपर्ने बताए। उनले स्थानीय तहका तर्फबाट प्रहरीलार्इ शान्ति र सुरक्षा कायम गर्ने विषयमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। 

त्यसैगरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अभियानको अवधारणा प्रस्तुत गरका थिए। उनले अभियानको उद्देश्‍य अपराध रोकथाम, सामाजिक विकृति विसंगतीविरुद्ध जनचेतना फेलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने र समग्र सामुदायिक सुरक्षालार्इ अभिवृद्धि गर्न नेपाल प्रहरी र स्थानीय तहबीचमा सम्बद्ध सरोकारवालाहरुलार्इ समेत समेटी संस्थागत साझेदारी निर्माण गर्ने रहेको बताए।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम आयतबारदेखि नेपालका ७७ वटै जिल्लामा शुरु भएको छ । 

के हो समुदाय- प्रहरी साझेदारी कार्यक्रम

नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम आइतबारदेखि देशभर सञ्चालन भएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा आइतबारबाट केन्द्रदेखि स्थानीय तह र विद्यालयसम्म एकैपटक सञ्चालन भएको हो। 

गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मसात् गर्दै नेपाल प्रहरी उक्त अवधारणालाई अगाडि सारेको हो । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँ तहसम्मै साझेदारी संरचना निर्माण गरिने प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । 

अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतना सहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने अवधारणामा उल्लेख छ । यसअघिका ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको प्रहरी सेवा’ लगायत कार्यक्रम ल्याएपनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको थिएन । 

अहिलेको नयाँ अभियानलाई भने दिगो र दीर्घकालीन साझेदारीका रुपमा विकास गर्ने योजना रहेको प्रहरी प्रवक्ता सुवेदीको भनाइ छ । विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास नेपाल प्रहरीले लिएको छ । 

कार्यक्रम ७५३ स्थानीय तहसम्म लैजाने गरी अगाडि बढाइएको छ । १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक प्रत्यक्ष संलग्न हुने प्रहरीले जनाएको छ । प्रहरीले परिणाममुखी काम गर्ने योजनाका साथ नयाँ अवधारणा ल्याएकाले सम्बन्धित मन्त्रालय र स्थानीय तहबाट आवश्यक सहयोगको लागि अनुरोध समेत गरेको छ । 

अभियान सफल बनाउन टोलटोलमा प्रहरी, नागरिकमैत्री प्रहरी सेवा, समुदाय र विद्यालय सचेतना कार्यक्रम सँगसँगै जानेछ । स्थानीय तहसँगको समन्वयमा विद्यालयमा समेत सामुदायिक सुरक्षा पाठ्यक्रम बनाएर लागू गरिने योजना प्रहरीले अगाडि सारेको छ । 

कार्यक्रम शुरु गर्न एक करोड ९२ लाख तथा एक वर्षको कार्यक्रम सञ्चालन गर्न  १७ करोड बजेट लाग्ने अनुमान गरिएको छ । यस्तै दीर्घकालीन योजनानुसार  ४३ करोड बजेट लाग्ने अनुमान प्रहरीको छ । 

यस्तै प्रहरीले अभियान सञ्चालन गर्न प्रहरी प्रधान कार्यालयले राष्ट्रिय संयोजन र व्यवस्थापनको काम गर्नेछ । जिल्लामा समुदाय–प्रहरी जिल्ला समिति निर्माण हुनेछ । यस्तै समुदाय–प्रहरीपालिका समिति, समुदाय–प्रहरी वडा समिति, समुदाय–प्रहरी टोल समिति र प्रहरी–विद्यालय सम्पर्क समिति निर्माण हुनेछ । 

जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्व रहने र स्थानीय तहका प्रमुख तथा प्रहरी कार्यालयले तोकेको प्रहरी अधिकृत सहसंयोजक रहने छन् । उक्त संयन्त्रमा विभिन्न सामाजिक सङ्घसंस्था रहनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।