बिहीबार, साउन ७, २०८३

किन घट्यो वैदेशिक लगानी ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पछिल्लो तीनमहिनामा वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) आधा घटेको छ।

चालु आर्थिक वर्ष ०७५/७६ को तीन महिनाको अवधि साउनदेखि असोजसम्ममा ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको वैदेशिक प्रतिवद्धता आएको छ। जुन गएको आवको सोही अवधिको तुलनामा करिब आधा कम हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको तथ्याङ्कअनुसार गएको आव ०७४/७५ मा ८ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । गएको वर्षको भन्दा यो वर्ष पछिल्लो तीनमहिनामा वैदेशिक लगानी प्रतिवद्धता तीनअर्ब ५८ करोड रुपैयाँ घटेको तथ्याङ्कमा देखिन्छ।

अर्थ विज्ञहरु सरकारले वैदेशिक लगानी (एफडीआई) सम्बन्धमा स्पष्ट धारणा ल्याउन नसक्दा अझै पनि वैदेशिक लगानीकर्ताहरु आकर्षित हुन नसकेको बताउँछन् । उनीहरुकाअनुसार अझै पनि विदेशी लगानीकर्ताहरु नेपालमा ढुक्कले लगानीगर्ने मुडमा छैनन् । उनीहरु सरकारको लगानी नीति र प्राथमिकतामा विश्वस्त हुन सकिरहेका छैनन् । 

गएको आवको सुरुवाती तीन महिनामा आएको लगानी प्रतिवद्धताबाट एक सय दुई परियोजना सञ्चालन हुनुका साथै तीनहजार ५५२ लाई रोजगार मिलेको जनाइएको छ । त्यसको तुलनामा चालु आवको सोही तीनमहिनाको अबधिमा लगानी आधाले घटे पनि एक सय ३१ परियोजना सञ्चानल हुने र त्यसबाट करिब पाँचहजारलाई रोजगार मिल्ने तथ्यांकमा देखिन्छ ।

अर्थशास्त्री केशव आचार्य विदेशि लगानीकर्ताहरु पर्ख र हेरको अवस्था रहेको बताउँछन् । ‘सरकारले ढुक्कले लगानी गर्ने विश्वास दिन सकेको छैन,’ उनले भने ‘वैदेशिक लगानीसम्बन्धी प्रस्तावित नयाँ ऐनको मस्यौदालाई सरकारले प्राथमिकतामा राख्न सकेको देखिदैन र अहिलेसम्म त्यो मस्यौदा मन्त्रिपरिषदसम्म पुग्न सकेको छैन। 

त्यस्तै बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजना, फास्ट ट्रयाक, पश्चिम सेती जलविद्युतलगायतका राष्ट्रिय गौरव तथा ठूला आयोजनाहरुप्रति सरकारले स्पष्ट धारणा आउन नसकेको अर्थशास्त्री आचार्य बताउँछन् । उनी भन्छन् ‘ती अयोजनाहरु कहिले सरकार आफैले बनाउने भन्छ त कहिले चिनियाँ कम्पनीलाई बनाउन दिने भन्छ । खै स्पष्ट धारणा ?’

सरकार स्पष्ट नहुँदा ठूला विदेशी लगानीकर्तामा विश्वासको साटो अविश्वास बढ्दै गएको उनको बुझाइछ। सरकारले लोडसेडिङको अन्त्य भयो भनेपनि तराईका औद्योगिक क्षेत्रहरुमा विद्युतको नियमित आपूर्ति हुननसक्दा वैदेशिकलगानीको वातावरण प्रभावित भएको छ ।

राष्ट्रिय योजनाआयोगका पूर्वउपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल वैदेशिकलगानीको अवस्थालाई मूल्यांकन गर्न तीन महिना पर्याप्तन हुने बताउँछन्।

कुनै निश्चित समयमा लगानी बढी आउँला कुनै अवधिमा घटी आउँला तर गएको तीन महिनाकै ट्रेन्ड हेरेर घटेको वा बढेकोे भन्न कठिन हुन्छ, पोखरेलले भने, त्यसको लागि चालू आवको अन्तिमसम्म पर्खनु पर्ने हुन्छ तर वैदेशिक लगानीकालागि सरकार आफै स्पष्ट हुननसकेको अवस्थाले नकारात्मक प्रभाव चाँही पारेको छ ।

उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले गएको तीन महिनामा वैदेशिक लगानीमा महत्व राख्ने हाइड्रो, कृषि र उत्पादनमुलक क्षेत्रको लगानी घटेको स्वीकार गरे। 

वैदेशिक लगानी भित्र्याउनका लागि विभागबाट सहजीकरणको काम भइरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘सरकारले समेत वैदेशिक लगानीलाई महत्व दिएर अघि बढेको छ । चालू आवभित्रै वैदेशिक लगानीलाई झनै सहज रुपमा भित्र्याउनको लागि एकद्वार प्रणाली अपनाइनेछ । जहाँबाट एकै ठाँउबाट विभाग, कम्पनी रजिस्ट्रार, अर्थ मन्त्रालय बैंक लगायतले दिने सेवा प्रदान गरिनेछ।’

सबैभन्दा बढी लगानी भारतको

चालु आवको तीन महिनाको अवधिमा सबैभन्दाबढी भारतबाट दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको १७ परियोजना सञ्चालनको लागि लगानी प्रतिवद्धता आएको छ ।जसबाट एक हजार ६६१ रोजगारी मिल्ने जनाइएको छ।
दोस्रोमा ६२ परियोजनामार्फत एक अर्ब २६ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । जसबाट एक हजार ८७९ जनालाई रोजगार मिल्ने जानकारी गराइएको छ ।

त्यस्तै चालू अवको तीनमहिनाको अबधिमा कतारबाट २४ करोड, युएसएबाट २१ करोड गरी विभिन्न मुलुकहरुबाट लगानी प्रतिवद्धता आएको छ ।

सबैभन्दा बढी लगानी पर्यटनमा
​​​​​​
आएको लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढी पर्यटन क्षेत्रमा एक अर्ब ७५ करोड रुपैयाँ आएको छ । त्यसपछि उत्पादनमुलक क्षेत्रमा एक अर्ब ४९ करोड रुपैयाँ,  सेवा क्षेत्रमा एक अर्ब आठ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । 
कृषि तथा वन पैदावर क्षेत्रमा ६ करोड, निर्माण क्षेत्रमा २४ करोड,  सूचना तथा प्रविधि क्षेत्रमा १४ करोड र मिनिरल क्षेत्रमा एक करोड रुपैयाँको वैदेशिकलगानी प्रतिवद्धता आएको छ ।

चालु आवको तीन महिनामा गएको सोही अबधिको तुलनामा उत्पादनमुलक क्षेत्र र कृषि तथा वन पैदावर क्षेत्रको लगानी अत्यधिक घटेको छ ।

गत आवको तीन महिनामा कृषि तथा वन पैदावर क्षेत्रमा एक अर्ब ८४ करोड र उत्पादनमुलक क्षेत्रमा पाँचअर्ब १२ करोड रुपैयाँ बैदेशिकलगानी प्रतिवद्धता आएको थियो । चालु वर्षको सोही अवधिमा कृषिमा तथा बन पैदावर क्षेत्रमा २९ गुणा र उत्पादनमूलक क्षेत्रमा साढे तीन गुणाले वैदेशिक लगानी प्रतिवद्धता घटेको देखिन्छ ।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्