आइतबार, चैत ८, २०८२

एमबीबीएस र सिभिल इन्जिनियरिङमा छात्रवृत्ति दिने सिदिङ्वा गाउँपालिकाको घोषणा

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले एमबीबीएस र सिभिल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

ताप्लेजुङ-ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले एमबीबीएस र सिभिल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। आवश्यक कानुनी प्रावधान बनाएर गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको हो। 

National life

मङ्गलबार आयोजित गाउँसभामा एमबीबीएस र सिभिल इन्जिनियरिङ अध्ययनका लागि निम्नस्तरका विद्यार्थीलाई सहयोग पुर्‍याउन तथा गाउँपालिकाभित्रै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्न आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बनाइएको गाउँपालिकाले जनाएको हो। यसका लागि कानुनी प्रावधान र न्यूनतम मापदण्ड बनाएर लागू गरिने गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिए।

गरिब तथा पछाडि परेका वर्ग समुदायका विद्यार्थीलाई सहयोग पुगोस् भनेर उक्त कार्यक्रम बनाइएको उनको भनाइ छ। छात्रवृत्ति वार्षिकरूपमा एकमुष्ठ प्रदान गर्ने सोच राखिएको अध्यक्ष कडरियाले बताए। 

यस्तै गाउँपालिकाले शिक्षकको कार्यसम्पादन मूल्याङ्कन गरी उचित मापदण्डका आधारमा हरेक वर्षमा वर्ष उत्कृष्ट शिक्षक घोषणा गरी नगद ३० हजारसहित पुरस्कृत गरिने भएको छ। शिक्षकलाई प्रोत्साहन गर्दै शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यक्रम बनाइएको गाउँपालिकाले जनाएको छ।

यता आधारभूत तह (कक्षा ८) र एसईई परीक्षामा गाउँपालिकामा प्रथम हुने छात्रछात्रालाई प्रतिविद्यार्थी नगद रु २० हजारसहित सम्मान गरिने छ भने एसइई परीक्षामा जिल्ला प्रथम हुने विद्यालयलाई नगद रु एक लाख पुरस्कारसहित सम्मान गर्नेसमेत नीति कार्यक्रममा उल्लेख गरिएको छ।

Laxmi sunrise bank
kumari

यसैबीच अनुमति पाएर पनि दरबन्दी नभएका विद्यालयमा शैक्षिक जनशक्ति व्यवस्थापन गर्ने र उक्त जनशक्तिलाई राज्यले प्रदान गर्ने तलब बराबरको अनुदान गाउँपालिकाबाटै उपलब्ध गराइनेसमेत जनाइएको छ। उक्त कार्यक्रमले जनशक्ति नपाएर सङ्कटमा परेका विद्यालयलाई सहयोग पुग्नुका साथै सिकाइबाट वञ्चित हुनुपर्ने विद्यार्थीको समस्यासमेत हल हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले बताए।

कोरोना सङ्क्रमणका कारण समयमा बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न नसकेको गाउँपालिकाले अवस्था सामान्य हुँदै गएपछि मङ्गलबार ४२ करोड दुई लाख २९ हजार बराबरको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। यो वर्ष तीन वटा वडाका वडा कार्यालय भवन निर्माण, सिदिङ्वा धामलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, कृषि क्षेत्रलाई उकास्नेलगायतका योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिका उपाध्यक्ष जीवन ताम्लिङले बताए। -रासस

प्रकाशित: Aug 12, 2021| 09:05 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्