जनकपुरधाम- संविधानले स्थानीय तहको कामकारबाहीको योजना तर्जुमा गर्न उपप्रमुख संयोजक हुने व्यवस्था गरेको छ। नगर विकाससम्बन्धी योजनाहरु उपप्रमुख संयोजक रहेको समितिमार्फत तयार गर्ने व्यवस्था छ। तर धनुषाको हँसपुर नगरपालिकामा योजना तर्जुमा समितिकी संयोजकलाई जानकारी नै नदिई योजना बनेको पाइएको छ।
शनिबार नगरप्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाले संयुक्त रुपमै गरेको पत्रकार सम्मेलनमा उपप्रमुख झाले आफूलाई जानकारी नै नदिई योजनाहरु बनि सकेको दाबी गरेकी छिन्।
मेयर मण्डलकै अगाडी उनले भनिन्,‘योजना तर्जुमाको संयोजक म आफंै छु’, तर योजनाबारे मलाई केहि जानकारी छैन्। मलाई बाइपास गरेर योजना ल्याइयो, म मेयरबाट पीडित भइसकेको छु।’ नगरको विकासकार्यमा बाधा अडचन नआओस भनी एक वर्षदेखि केहि नबोलेर बसेको उपप्रमुख झाको गुनासो थियो।
नगर प्रमुख मण्डलले उपप्रमुख झासँग कुनै विवाद नरहेको देखाउन संयुक्त रुपमै पत्रकार सम्मेलन गरेपनि उपप्रमुख झाको भनाइले पछिल्लो एक वर्षदेखि चल्दै आएको विवाद छर्लगं भएको छ। हँसपुर नगरपालिकाको विकास निर्माणदेखि विभिन्न विषयमा नगर प्रमुख र प्रमुखबीच विवाद चल्दै आएको छ। दुईजनाको विवादका कारण उपप्रमुख झा केहिदिनअघि आमरण अनशन नै बसेकी थिइन्।
यद्यपी नगर प्रमुख मण्डलले भने उपप्रमुख झासँग आफ्नो कुनै विवाद नरहेको भन्दै पत्रकार सम्मेलनमा विश्वास दिलाउने प्रयास गरेका थिए। कुनै विवाद नरहेको मण्डलले दाबी गरेपछि उपप्रमुख झाले जवाफ फर्काउँदै झाले प्रमुखसँग बोल्नसमेत मन नलागेको तर काम अवरुद्ध हुने डरले बाध्यतावस बोल्नु परेको बताइन्।
एउटै पार्टी राजपाबाट निर्वाचित भएका प्रमुख र उपप्रमुखबीचको विवादलाई पार्टीको जिल्ला नेतृत्वले साम्य पारेपनि विगत केहि दिनअघिमात्र हरहिसाबका लागि स्थानीयहरुले कार्यकारी अधिकृतलाई कार्यालयमै थुनेका थिए।
आर्थिक अनियमितता भएको कांग्रेसको आरोप
यता नगरपालिकामा व्यापक आर्थिक अनियमितता भएको नेपाली कांग्रेसले आरोप लगाएको छ। शनिबारै कांग्रेस हंसपुर नगर समितिले पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७४-७५ को बजेटमा करोडौंको भ्रष्टाचार भएको दाबी गरेको छ।
स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयरका प्रत्याशी रहेका प्रदीप यादवले नगरपालिकाको विकास निर्माणमा २ करोडभन्दा बढीको भ्रष्टाचार भएको दाबी गरे। नेपाली कांग्रेसले हँसपुर नगर क्षेत्रभित्र भएको विकास निर्माण कार्यको अनुगमन समिति गठन गरेर गरिएको स्थलगत निरीक्षणको क्रममा अनियमितता पाइएको पत्रकार सम्मेलनमा यादवले बताए।
नगरप्रमुख मण्डलको मिलोमतोमा कागजमै काम गरेर बजेट सकाइएको नेपाली कांग्रेसको आरोप छ। नगरपालिकाका वडाहरुमा न्यून योजना कार्यान्वय भएको र अधिकांश योजनामा कामै नगरी रकम निकास गरिएको यादवले आरोप लगाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४