बिहीबार, साउन ७, २०८३

२० लाख पर्यटकलाई सेवा गर्न दक्ष जनशक्ति आवश्यक  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले सञ्चालन गर्न लागेको नेपाल पर्यटन वर्ष सफल पार्न दक्ष र सिपयुक्त शिक्षित होटल व्यवस्थापनका लागि जनशक्ति चाहिने यस क्षेत्रका विज्ञहरूले औंल्‍याएका छन्।

ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) को शनिबार राजधानीमा आयोजित आठौं दीक्षान्त समारोहमा बोल्ने पर्यटन क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले पर्यटन क्षेत्रमा व्यापक रोजगारीका अवसरहरू सिर्जना हुँदै गएको भएपनि अझै दक्ष जनशक्तिको अभाव रहेको औंल्याए।

'नेपाल सरकारले सन् २०२० भित्र २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ, भर्खरैमात्र लोन्लीप्लानेटले काठमाडौंलाई विश्वकै घुम्नै पर्ने सहरभित्र समेटेको छ,' अन्तर्राष्ट्रिय पर्यटन शिक्षाविद् डा बर्न भान वाल्विकले भने, 'हिल्टन ग्रुपले विश्वभरि नै आफ्ना नयाँ होटलहरू खोल्दैछ, हिल्टनजस्ता अरु थुप्रै पाँचतारे होटलहरू नेपालमा पनि खुल्नेछन्, त्यतिखेर यहाँ नै पर्याप्त दक्ष जनशक्तिको माग हुनेछ।'

डा. वाल्विकले आउँदो १० वर्षभित्र विश्वभरि लाखौं रोजगारीका अवसर सिर्जना हुने सम्भावना औंल्याउँदै त्यो अवसर नेपालभित्रै पनि सिर्जना हुने दाबी गरे। यसैगरि स्वीजरल्यान्डको स्वीस होटल एसोसियसन होटलरीस्वीसका सञ्चार तथा बजारीकरण प्रमुख प्याट्रिक स्कोनबर्गले विश्वभरि नै पर्यटनसँग सम्बन्धित दक्ष जनशक्तिको माग बढ्दै गएको परिप्रेक्षमा यहाँ उत्पादित दक्ष जनशक्तिले स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै अवसर पाउने बताए। 

नेपालका लागि स्वीजरल्यान्डकी राजदूत एजिलावेथ भान कप्लरले नेपालको पर्यटन र समग्र विकासका लागि स्वीजरल्यान्डले ६० को दशकदेखि नै सहयोग गर्दै आएको चर्चा गर्दै गेट कलेजले नेपालमै स्वीस सम्बन्धनमा अन्तर्राष्ट्रिय स्तरको पर्यटन शिक्षा प्रदान गर्दै आएकोमा सह्राना गरे। राजदूत कप्लरले सबै होटल व्यस्थापनका विद्यार्थीहरूले पाँचतारे वा पर्यटन स्तरको होटलमात्र होइन, होमस्टेजस्ता पर्यटन सेवा विस्तार गरेर स्वःरोजगार पाउने बताए।

कार्यक्रममा गेट कलेजका संस्थापक-प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले गेट कलेजले विगत ११ वर्षदेखि विश्व पर्यटन बजारमा प्रतिष्पर्धात्मक रूपमा आफूलाई उभ्याउन सक्ने जनशक्ति उत्पादनमा जोड दिँदै आएको प्रष्ट पारे।

सो अवसरमा एकेडेमिक काउन्सिल प्रमुख डा दलजीत राव र गेट सञ्चालक समितिका अध्यक्ष चिजकुमार श्रेष्ठले नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापन शिक्षा प्रदान गर्नका लागि कलेजले विशिष्ट, अभ्यासात्मक शैक्षिक प्रणाली अबलम्बन गर्दै आएको जानकारी दिए।

सन् २०१८ को दीक्षान्त समारोहबाट १५ औं र १६ औं ब्याचका कुल ९७ जना विद्यार्थीहरू दीक्षित भएका गेट कलेजले जानकारी दिएको छ। उक्त कार्यक्रममा १६ औं ब्याचबाट सर्वोत्कृष्ट नतिजा हासिल गर्ने राजमिलन पौडेलसहित उत्कृष्ट अनुसन्धानका पौडेलसहित १५ औं ब्याच स्वीटी श्रेष्ठलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। 

गेट कलेजमा हालसम्म नेपालभित्रका सबै जिल्लाबाहेक १९ मुलुकबाट करिब ४ सय विद्यार्थीहरू होटल व्यवस्थापन शिक्षाको स्नातक तहमा दीक्षित भइसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्