काठमाडौं- प्रधानमन्त्री केपीशर्मा ओली शनिबार आयोजित चियापान कार्यक्रममा आँउछन भनेर धेरैले भृकुटीमण्डपतर्फ आँखा ओछ्याई रहेका थिए। अबेरसम्म यसरी हेर्नेका आँखा थाके तर, ओली आएनन्।
ओलीकै भाषामा भन्दा कार्यक्रममा एउटा ठुलो जहाज चलाउने दुई पाईलटमध्ये एकको अनुपस्थिति थियो। चार महिनाअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेकपा बनेपछि यस पार्टीमा केपी शर्मा ओली र प्रचण्ड दुई अध्यक्ष छन्।
बडा दशैं, दीपावली तथा छठ पर्वको अवसरमा नेकपाले शनिबार आयोजना गरेको कार्यक्रममा दिनभर प्रधानमन्त्रीका लागि छुट्याएको कुर्सी दिनभरी खाली नै रह्यो। कार्यक्रम सकिएपछि स्वयंसेवकले प्रधानमन्त्री नबसेको रित्तो कुर्सी उठाएका थिए। कार्यक्रममा सहभागी सबैले प्रधानमन्त्री आउने वा नआउने केही खवर थाहा पाएका थिएनन्। शनिबारको चियापान खल्लो नहोस भनेर हुनुपर्छ, यसबारे कुनै ओपचारिक जानकारी पनि गराइएन।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली काममा धेरै धपेडी भएपछि बिहीबार देखिनै अस्वस्थ भएका थिए। चिकित्सकले उनलाई शुक्रबार पुरै आराम गर्न सुझाव दिएका थिए। सोही सुझाव अनुसार शुक्रबार बोलाईएको मन्त्रिपरिषदको बैठक समेत स्थगित गरिएको थियो। नेकपा तथा प्रधानमन्त्रीको सचिवालयले समेत यसबारेमा बाहिर जानकारी गराउन चाहेको थिएनन्। तर बालुवाटार स्रोतले भने प्रधानमन्त्री गम्भीर बिरामी परेको दाबी गरेको छ।
चियापान कि प्रेमलीला
सधै प्रहरीको निशानामा पर्ने गरेका मायालु जोडीले नेकपाको चियापनको भरपुर फाईदा उठाएको देखिन्थ्यो। उनीहरु भृकृटीमण्डप आसापासमा नेकपाको अतिथिजस्ते भएर एक आपसमा हृदय मिलनमा व्यस्त देखिन्थे। नेकपाको चियापानमा सुरक्षाकर्मी र स्वयंसेवकहरुलाई सवारी तथा आन्तरिक व्यववस्थापनको चटारो देखिन्थ्यो। तर शनिबार भने मायालु जोडी भने निस्फिक्री एकअर्काको आलिंगनमा बाँधिएका देखिन्थे। मानौं, यो नेकपाको चियापन भईरहेको छैन की यो त भ्यालेन्टाईन डे अर्थात फेब्रुअरी १४ हो। त्यसैगरी चियापनमा अर्को पक्ष लठ्ठि यो फोटो सेसन र सेल्फीमा। यसमा तन्नेरी मात्र होइन, जवानीले पेन्सन पकाएका समेत निकै सक्रिय देखिन्थे।
कार्यक्रममा चियापान बहिष्कारको पर्चा
कार्यक्रम चलिरहेकै बखत चियापान कार्यक्रम बहिष्कारको पर्चा वितरण गरिएको थियो। नेकपा असन्तुष्ट समूहको नामबाट विचरण गरिएको सो पर्चा पूर्व माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य युवराज पौडेलेको नेतृत्वमा भएको थियो नेकपा असन्तुष्ट समूहको नामबाट कार्यक्रम स्थलमा नै वितरण गरिएको सो पर्चामा पार्टीको एकीकरण ५० प्रतिशतका आधारमा हुनुपर्ने माग राखिएको थियो।
त्यसैगरी नेकपा बाहिर रहेका सबै कम्युनिस्ट समूहलाई एकतामा ल्याउनु पर्ने माग गरिएको छ। पर्चामा वर्तमान सरकारले राम्रो काम गर्न नसकेकोले सरकारलाई निदेशन दिन उच्चस्तरीय कार्यदल बनाउन माग गरिएको थियो। नेकपाको केन्द्रीय समिति हचुवा तथा नातावाद कृपावाद तरिकाले गठन भएकोले त्यसलाई तत्काल विघटन गर्न माग गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४