काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।
स्वास्थ्यमा समस्या भएकोले पार्टीले आयोजना गरेको चियापानमा प्रधानमन्त्री ओली उपस्थित हुन नसक्ने श्रोतले जानकारी दिएको छ। दुर्इ अध्यक्षसहित पार्टीका वरिष्ठ नेताले अतिथिलार्इ स्वागत गर्ने भनिएपनि प्रधानमन्त्री ओली भने कार्यक्रम स्थलमा उपस्थित हुन सकेनन्। चिकित्सकले पनि उनलार्इ रेस्ट गर्न सुझाव दिएपछि उनी कार्यक्रममा उपस्थित नभएका हुन्।
उनको स्वास्थ्य अवस्थाकै कारण शुक्रबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक पनि स्थगित गरिएको हो।
चियापानको शुभारम्भ पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन्। शुभारम्भ कार्यक्रममा बोल्दै चाडपर्वको अवसरमा कुनै राजनीतिक कार्यक्रम नभए पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधताले भरिपूर्ण राष्ट्र भएको जनाउँदै विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता तथा समझदारी र सहकार्यलाई जोड दिनुपर्ने दाहालले बताए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा चियापान कार्यक्रम आयोजना गरेको हो। काठमाडौँको भृकुटीमण्डपमा अपराह्न १२ बजेदेखि आयोजना गरिएको कार्यक्रम बेलुका ५ बजेसम्म चल्नेछ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागेको चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता दिइएपनि करीब ३५ हजार सहभागी हुने अनुमान गरिएको छ।
कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयंसेवक परिचालन गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४