काठमाडौं-चौधरी समूहद्वारा उत्पादित वाइवाइ ब्राण्ड चाउचाउले भारतीय बजारमा पुरानो ब्राण्ड म्यागीलाई चुनौती दिंदै बजार हिस्सा बिस्तार गरिरहेको छ । भारतीय बजारमा प्रवेश गरेको एक दशक नपुग्दै वाइवाइले तीन दशक पुरानो ब्राण्ड म्यागीलाई पछ्याउन सफलता पाएको हो ।
टोटल सल्युसन गु्रपले गत साता सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०१८ को पहिलो ६ महिनामा वाइवाइको बजार हिस्सामा २ प्रतिशतले वृद्धि भएर २८ प्रतिशत कायम भएको छ । यो ८ सय ८० करोड भारु मूल्य बराबर हो ।
त्यस्तै आइटीसीले ८०४ करोड भारु सहित इप्पी ब्राण्ड चाउचाउको २५ प्रतिशत बजार हिस्सा रहेको दाबी गरेको छ । भारतीय बजारमा तीन दशकदेखि दबदबा कायम राखेको म्यागी चाउचाउको बजार हिस्सा ६० प्रतिशतभन्दा बढी रहेको नेस्लेले दाबी गरेको छ । यद्दपी तीनवटै कम्पनीको दाबीको योगफल निकाल्दा शत प्रतिशतभन्दा बढी हुन आउँछ । पतन्जलीको आटा नुडल्सलगायत अन्य कम्पनीको ब्राण्डको चाउचाउ सीमित छन् ।
वाइवाइ नुडल्स तत्कालै खान मिल्ने ब्राउन नुडल्स(खैरो चाउचाउ) हो । म्यागीको तुलनामा स्वादिलो र अतिरिक्त मसलाको जोहो गर्नु नपर्ने भएकोले दक्षिण एशियाली उपभोक्ताको जीब्रो अनुसारको स्वाद वाइवाइले दिने गरेको छ ।
यता वाइवाइको विशेषतालाई पछ्याउँदै बहुर्राष्ट्रिय कम्पनी नेस्लेले म्यागीको मसाला नुडल्स भारतीय बजारमा ल्याएको छ । यसअघि उस्ले पकाएपछि मात्र खान मिल्ने ह्वाइट नुडल्स(सेतो चाउचाउ)लाई मुख्य उत्पादनको रुपमा बेच्दै आएको थियो । योसँगै म्यागीले गत महिनाबाट अनलाइनमार्फत् बजारीकरण गर्ने कम्पनी फिलिपकार्टससँग हातेमालो गर्दै उपभोक्तालाई म्यागी बेच्न थालेको छ ।
भारतीय उपभोक्तालाई चाउचाउ खानको लागी प्रोत्साहित गर्न चौधरी समूहले भारतको विभिन्न ३० भन्दा बढी स्थानमा वाइवाइ सिटी रेष्टुरेन्ट संचालनमा ल्याएको छ । जहाँ उपभोक्ताको लागी चाउचाउका एक सयभन्दा बढी परिकार तत्काल पस्किने सुविधा उपलब्ध छ । चौधरी समूहले सन् २०२० सम्ममा थप भारु १ सय ५० करोड लगानी गरेर वाइवाइ सिटी रेष्टुरेन्टको संख्या ५ सय पुर्याउने घोषणा समेत गरिसकेको छ ।
म्यागी चाउचाउ फेरी विवादमा
सन् २०१५ गुणस्तरहीन उत्पादन बेचेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको आरोप खेपेको म्यागी चाउचाउ पुनः विवादमा तानिएको छ । उस्का वितरकले उपभोक्तालाई कर छुटको लाभ नदिएर महँगोमा चाउचाउ बेचेको आरोपमा अहिले नियामक निकायमा कारवाही चलिरहेको छ ।
म्यागी पटक पटक विवादमा तानिदा प्रतिस्पर्धी कम्पनीलाई बजार बिस्तार गर्न सुनौलो अवसर मिल्ने गरेको छ । हालै नेशनल एण्टि प्रोफिटियरिंग अथोरिटी(एनएपीए)ले ३५ ग्रामको म्यागी चाउचाउको बिक्री मूल्यमा उपभोक्तासँग ठगी भएको आरोपमा म्यागीका वितरकविरुद्ध कारवाही शुरु गरेको हो । एनएपिए मुनाफाखोरीविरुद्ध निगरानी गर्ने अधिकार प्राप्त सरकारी निकाय हो ।
एकीकृत कर प्रणाली गुड्स एण्ड सर्भिस ट्याक्स(जिएसटी) को कार्यान्वयनपछि करको दर १८ देखि १२ प्रतिशत झरेपनि ३५ ग्राम तौलको म्यागी चाउचाउमा वितरकले उपभोक्तालाई करको लाभ नदिएको एनएपिए ठहर गरिएको छ ।
स्वास्थ्यका लागी हानिकारक मानिएको मोनोसोडियम ग्लुकोमेट(एमएसजी)को मात्रा तोकिएको मापदण्डभन्दा बढी मात्रामा पाइएपछि जुन २०१५ मा म्यागीको बिक्री वितरणमा भारतमा रोक लगाइएको थियो । न्यायायीक आदेशपछि ६ महिनापछि बल्ल म्यागी विरुद्धको प्रतिबन्ध फुकुवा भएको थियो ।
इकोनोमिक टाइम्सले उल्लेख गरे अनुसार सन् २०१७ मा भारतीय चाउचाउको बजार १४ करोड ३८ लाख अमेरिकी डलर बराबर रहेको आंकलन गरिएको थियो । यो बजारको वार्षिक औसत वृद्धिदर सन् १०२८ देखि २०२३ सम्ममा ५.६ प्रतिशत रहने अनुमान गरिएको छ।–भारतीय समाचार एजेन्सीको सहयोगमा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४