काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले दुर्इ तिहाइको नाममा जनतालार्इ ढाट्ने काम गरेको समेत आरोप लगाएका छन्।
नेपाल तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा पुगेका पूर्वप्रधानमन्त्री देउवाले सरकार यसरी अघि बढे लोकतन्त्र नै खतरा पर्ने भएकोले कांग्रेस सजग हुनुपर्ने बेला आएको बताए। उनले भने, 'विगतका आन्दोलनमा जसरी तरुण दलले निर्णायक भूमिका खेल्यो आजको दिनमा लोकतन्त्रको रक्षा र जनताको हकहितको संरक्षणका लागि त्यसरी नै लाग्नुपर्ने समय आएको छ।'
त्यस्तै सभापति देउवाले सरकारले निर्मला पन्तका बलात्कारी र हत्यारालार्इ संरक्षण गरेको आरोप लगाएका छन्। दोषीलार्इ संरक्षण गरेर घटनालार्इ मोड्न खोजेको आरोप लगाउँदै देउवाले सरकार नै निर्मलाका हत्यारालार्इ संरक्षण गर्न लागि परेको बताए ।
यो जघन्य अपराध भएकोले नेपाली कांग्रेसले यो घटनालार्इ गम्भीर रुपमा लिएको र कुनै हालतमा निर्मलाको हत्यारालार्इ कारबाही गर्न सरकारलार्इ दबाब दिने बताए । तरुण दलले जनताको हकहितका र लोकतन्त्रका लागि विगतमा जस्तै गरी लड्छ भन्ने आशा भएको समेत उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४