काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण यही जेठ १७ देखि २० गतेसम्मका लागि तय भएको छ। वैशाख तेस्रो साता नै भ्रमणको प्रयास भए पनि भारतीय समकक्षी नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरको समय नमिल्दा धकेलिएको थियो। अब भने भ्रमण सुनिश्चित भइसकेको छ। शनिबार दुवै देशका परराष्ट्र मन्त्रालयले भ्रमणको कार्यतालिका सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दाहालको भ्रमणमा स्वकीय सचिव छोरीदेखि सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। यसैगरी प्रधानमन्त्री दाहालले जेठ १८ मा भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ।
दाहालको भ्रमणमा स्वकीय सचिव छोरीदेखि सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन्।
वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री दाहालले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भई भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्ने कार्यक्रम छ। दाहालले जेठ २० मा काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो। यस भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो, बहुआयामिक र सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
एजेन्डाको भारी
भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले उठाउनुपर्ने थुप्रै एजेन्डा छन्। कतिपय विषय शीर्ष तहमा कुरा गरेर मिलाउनुपर्ने खालका छन् भने कतिपय मन्त्री तथा सचिवस्तरीय बैठकबाट सम्बोधन हुने किसिमका छन्। तेस्रो कार्यकालको पहिलो विदेश भ्रमण भारतबाटै गर्न लागेका प्रधानमन्त्री प्रचण्डले यसपटक आफ्नो भ्रमणका क्रममा केही महत्वपूर्ण विषयमा ब्रेक थ्रु हुने विश्वास व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणका क्रममा उठ्ने र उठाइने केही विषयबारे जानकारी गराएका थिए। प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका विषयमा यसपटक नयाँ समझदारी हुने बताएका छन्। ‘पञ्चेश्वरका बारेमा छलफल चलिरहेको छ। सम्भवतः धेरै वर्षपछि पञ्चेश्वर परियोजना अगाडि बढाउनेबारेमा एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ,’उनले भने।
प्रधानमन्त्री प्रचण्डले भारतसँग नयाँ एयर रुटको विषयमा पनि छलफल हुने बताए। भारतले एयर रुट नदिँदा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको आकाश हुँदै उडान र अवतरण हुन सकेको छैन। प्रधानमन्त्री प्रचण्डले संसद्मा भने, ‘नयाँ एउटा एयर रुट प्राप्त हुने सम्भावना छ।’२०७५ सालमा भारतबाट नेपालमा चार वटा हवाई रुट थप्ने सहमति भएको थियो। तर, कार्यानवयनमा आउन सकेको थिएन।
भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले उठाउनुपर्ने थुप्रै एजेन्डा छन्। कतिपय विषय शीर्ष तहमा कुरा गरेर मिलाउनुपर्ने खालका छन् भने कतिपय मन्त्री तथा सचिवस्तरीय बैठकबाट सम्बोधन हुने किसिमका छन्।
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा व्यापार तथा पारवहन (ट्रेड एण्ड ट्रान्जिट) बारे पनि नयाँ सहमति हुने बताएका छन्। ‘ट्रेड एण्ड ट्रान्जिटबारे पनि सहमति हुन्छ। त्यो २०१९ देखि रोकिएको काम यो पटक अगाडि बढ्छ भन्ने विश्वास छ,’ उनले भने।
नेपाल-भारत सीमा समस्या र नेपाल-भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनबारे भ्रमणमा छलफल हुने प्रधानमन्त्रीले बताएका छन्। 'भारत भ्रमणको क्रममा ईपीजी र सीमाको विषय उठ्छ कि उठ्दैन भनेर प्रश्न उठेको छ। यी विषयमा मेरो गम्भीर रूपले ध्यान छ। उपयुक्त तरिकाले छलफलमा जान्छन्,' उनले भने।
नेपाल र भारतको सहमतिमा बनेको ८ सदस्यीय समूहले प्रतिवेदन तयार पारेको ५ वर्ष पुगिसकेको छ। उक्त प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने समझदारी थियो। तर भारतीय प्रधानमन्त्रीले उक्त प्रतिवेदन बुझ्न हालसम्म समय दिएका छैनन्। सोही कारण हालसम्म प्रतिवेदन सार्वजनिकसमेत भएको छैन।
आफ्नो भारत भ्रमणमा सार्क बैठकलाई सुचारु गर्ने विषयमा पनि छलफल गर्ने प्रचण्डले बताएका छन्। 'सार्क बैठकबारे छलफल चलिराखेको छ। यो विषयमा मेरो गम्भीर रूपले ध्यान छ। यी विषय उपयुक्त तरिकाले छलफलमा जान्छन्। पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ। निकै सकारात्मक ढंगले छलफल चलिराखेको छ,' प्रधानमन्त्री दाहालले भने। दुई वर्षभित्र भूमि सम्बन्धी समस्या समाधान गर्ने उनको दाबी छ।
२०७९ पुस १० गते प्रधानमन्त्री बनेसँगै प्रचण्डलाई भारत भ्रमणको हतारो थियो। प्रचण्डलाई पहिलो बधाई पनि भारतीय पक्षबाट नै आएको थियो। उनले भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने सम्भावना रहेको बताएका थिए।
प्रधानमन्त्री प्रचण्डले आफ्नो यस भ्रमणका क्रममा इतिहास रचेर नेपाल–भारत सम्बन्धको आयाम नयाँ ठाउँमा पुग्ने र केही नयाँ चिज नेपाललाई प्राप्त हुने बताएका छन्। ‘सायद यो भ्रमण राम्रो अवसर हो, नेपालका लागि पनि र भारतका लागि पनि। हामीले दुईपक्षीय सम्बन्धलाई बलियो पार्ने, दुईपक्षीय सहयोगका क्षेत्रहरूलाई नयाँ बनाउने। अहिले मैले धेरै भन्न उचित हुँदैन तर एउटा नयाँ इतिहास यो पटक रचिन्छ होला भन्ने विश्वासका साथ म भारत जाँदैछु,’उनको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले भारतलाई विश्वासमा लिएर नेपाल-बंगलादेश ऊर्जा व्यापारका लागि रुट उपलब्ध गराउने विषयमा सम्झौता गर्ने विषयमा तयारी भइरहेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन्। यससँगै तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् विकास, अमलेखगञ्ज लोथर तथा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण सम्झौताको विषयलाई पनि एजेण्डाको रुपमा राखिएको छ। त्यसैगरी न्यु मोदी–लेखनाथ प्रसारण लाइन उद्घाटन, गोरखपुर प्रसारण लाइन शिलान्यास, दोधारा–चाँदनी एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाहमा समझदारीपत्र (एमओयू), नेपालगन्ज एकीकृत चौकी उद्घाटन, भैरहवा एकीकृत जाँच चौकीको शिलान्यास, विराटनगरको रेल ‘यार्ड’ उद्घाटन गर्ने विषय पनि प्रमको भ्रमणका एजेण्डा हुन्।
ओझेलमा परेको महत्वपूर्ण एम्सको विषय
नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पढ्ने नेपाली विद्यार्थीहरुमाथि प्रशासनले असमान व्यवहार गर्ने गरेको छ। स्नातकोत्तर वा सोभन्दा माथि एमडी, एमएस, एमडीएस, डीएम र एमसीएचमा भर्ना भएका नेपाली चिकित्सक विद्यार्थी आफ्ना भारतीय सहकर्मीसरह सुविधा पाउनबाट वञ्चित छन्।
चिकित्सा शिक्षा अध्ययनका लागि अब्बल मानिने एम्समा अहिले विभिन्न तहमा गरेर ५० भन्दा बढी एमडी, एमएसलगायत चिकित्सा विषयका नेपाली विद्यार्थी अध्ययनरत छन्। उस्तै प्रतिस्पर्धाबाट छानिएर आएका र समान अध्ययन तथा काम गरिरहेका नेपाली चिकित्सकलाई एम्सले जीवन निर्वाह भत्ता दिँदैन, जबकि सँगै पढ्ने भारतीय विद्यार्थीहरुले मासिक ९० हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउँछन्।
प्रधानमन्त्री प्रचण्डलाई एम्सको समस्याबारे ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइँदै
भारतमै पोस्ट ग्रयाजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च चण्डीगढ तथा जवाहरलाल इन्स्टिच्युट अफ पोस्ट ग्रयाजुएट मेडिकल एजुकेसन एन्ड रिसर्च पुडुचेरीले सन् २०२० देखि नेपाली विद्यार्थीलाई जीवन निर्वाह भत्ता दिन थालेको छ। तर, एम्समा अझै पनि नेपाली चिकित्सक त्यसका लागि संघर्षरत नै छन्।
२०२१ मा एम्सबाट एमडी पासआउट भएका डा. सागर पौडेलले रेजिडेन्ट्स चिकित्सकलाई स्टाइपेन्ड अर्थात् निर्वाह भत्ता दिनुपर्ने विश्वव्यापी मान्यता रहेको बताए। ‘मास्टर डिग्रीको पढाइमा कक्षाकोठाभन्दा बढी समय ड्युटीमा बिताउनुपर्छ। त्यही ड्युटीबापत रेजिडेन्ट्स चिकित्सकले स्टाइपेन्ड पाउनुपर्छ। नेपालमा अध्ययनरत नेपाली वा भारतीय विद्यार्थीले त्यो सुविधा पाएका छन्। तर, एम्समा अध्ययनरत नेपालीलाई उक्त सुविधाबाट वञ्चित राखिएको छ।’
यसका लागि आफूहरूले भारत र नेपाल सरकारको पटक–पटक ध्यानाकर्षण गराए पनि परिणाम आउन नसकेको उनले गुनासो गरे। प्रधानमन्त्री प्रचण्डको आशन्न भारत भ्रमणमा यस विषयको समाधान खोजिनुपर्ने पौडेलले बताए। उनीहरुले हालै बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर एम्सका नेपाली विद्यार्थीहरूको मुद्दा सम्बोधनका लागि पहल गर्न ज्ञापनपत्र पनि बुझाएका थिए। एम्सका विद्यार्थीहरूले आफ्नो समस्याबारे दिल्लीस्थित नेपाली दूतावासलाई ध्यानाकर्षण गराइसकेका छन्।