खोटाङको कोपिलासगढी गाउँपालिकाले आफ्नो लेटरप्याड, छाप र कार्यालयको बोर्डमा कोसी प्रदेश उल्लेख नगर्ने निर्णय गरेको छ। गाउँपालिकाको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो।
गाउँपालिकाले सार्वजनिक गरेको निर्णयको बुँदा नम्बर ७ मा प्रदेश सरकारले आफ्नो संवैधानिक कार्यक्षेत्रभित्र रहेर कोसी प्रदेश नामकरण गरेको उल्लेख गरिएको छ। तर, उक्त नामकरणविरुद्ध आन्दोलन भइरहेको छ। खोटाङका विभिन्न स्थानीय तहले लेटरप्याड, छाप र कार्यालयको बोर्डमा कोसी प्रदेश नराख्ने भनी निर्णय गरेको पाइएकाले कोपिलासगढीको कार्यपालिका बैठकबाट समेत अर्को व्यवस्था नभइन्जेलसम्मका यस्तो निर्णय गरेको हो।
तत्कालीन प्रदेश १ लाई प्रदेश सरकारले गत फागुन १७ गते कोसी नामकरण गरेको थियो। त्यसविरुद्ध विभिन्न संघ-संस्था, राजनीतिक दल र स्वतन्त्र नागरिक समाजले आन्दोलन गरिरहेका छन्।
भोजपुरको आमचोक, खोटाङको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकालगायत पहाडी जिल्लाका स्थानीय तहहरुले लेटरप्याड, छाप र कार्यालयको बोर्डमा कोसी प्रदेश नराख्ने निर्णय गरिसकेका छन्।