जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय सरकार र कम्युनिस्ट नेताहरुले प्रदेश सरकारलाई दास जस्तो व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन्। मुलुक संघीय संरचनामा गइसकेको भन्दै तानाशाही शासन झैं मालिकजस्तो व्यवहार नगर्न निधिले संघीय सरकारलाई ध्यानाकर्षण समेत गराए।
शुक्रबार अपरान्ह जनकपुर विमानस्थलमा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपसभापति निधिले प्रदेश प्रहरी ऐन ल्याएर प्रदेश सरकारले हिम्मत देखाएको टिप्पणी गरे। उनले प्रहरी ऐन ल्याएको भन्दै प्रदेश सरकारप्रति संघीय सरकारको धम्कीपूर्ण व्यवहार आपत्तिजनक रहेको बताए।
‘मुलुक संघीयतामा गइसकेकोले प्रदेश अधिकार सम्पन्न बन्नु पर्दछ,’ उपसभापति निधिले भने, ‘प्रहरी प्रशासनै हातमा नरहे प्रदेश सरकारले कसरी काम गर्ने? प्रहरी ऐनको बहाना बनाएर संघीय सरकार र कम्युनिस्ट नेताहरुले प्रदेशलाई हेप्न खोजेको छ। यस्तो व्यवहार हामीलाई स्वीकार्य छैन्।’
संघीय संरचनामा प्रदेश सरकार केन्द्रीय सरकारको नोकर वा कार्यकर्ता हुन नहुने भन्दै संघीय सरकारको प्रदेशप्रतिको दृष्टिकोण तानाशाही प्रवृत्तिको रहेको निधिले बताए।
उपसभापति निधिले संघीयता आइसके पनि मुलुक चलाउने ड्राइभर संघीयता विरोधी हुन पुगेकोले शासन प्रणाली, राजनीतिक व्यवस्था र संविधान खतरामा परेको दाबी गरेका छन्। कम्युनिस्टको शब्दकोषमा संघीयता भन्ने शब्द नरहेको भन्दै निधिले प्रदेशलाई अधिकार विहीन बनाएर संघीय सरकार संघीयता नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाए।
आठ महिनाको अवधिमा लागि सरकारले केही गर्न नसकेको बताउँदै निधिले सरकारप्रति जनताका नैराश्यता बढ्न थालेको उल्लेख गरे। आफ्नो कार्यशैलीमा सुधार नगरे सरकार धेरै दिन टिक्न नसक्ने उनको भनाइ थियो। गुट उपगुटले पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ हुने बताउँदै उनले पार्टीको अहित र क्षति हुने काम कुनै गुटबाट नहुनेमा जोड दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४