महोत्तरी- प्रहरीले महोत्तरीबाट तीनजनालाई लागुऔषधसहित पक्राउ गरेको छ। भारतीय सीमाक्षेत्र नजिकै रहेको महोत्तरीको सम्सीबाट शुक्रबार अपरान्ह प्रहरीले तीन जनालाई अवैध लागुऔषधसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा महोत्तरी बर्दिवास नगरपालिका-२ गौरीडाँडा बस्ने २३ वर्षीय सागर तामाङ, बारा निजगढ नगरपालिका-५ बस्ने २१ वर्षीय राजेन्द्र मगर र ललितपुर-४ बाघटोल बस्ने ३५ वर्षीय राज श्रेष्ठ रहेको सम्सी प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक रामलाल यादवले जानकारी दिएका छन्।
इञ्चार्ज यादवका अनुसार उनीहरुको साथबाट अवैध लागुऔषध फेनारगन ३५ थान, नुफिन ३५ थान र डाइजिल्याब ३५ थान बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेका तीनैजनालाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको यादवले जानकारी दिए।
केहि दिनअघिमात्र सम्सी नाकामा प्रहरीले एक युवकलाई ठुलो परिमाणको लागुऔषधसहित स्थानीय ३५ वर्षीय सलिफ उल रहमानलाई प्रक्राउ गरेको थियो। रहमानको साथबाट स्पास्मो ९५ थान,नाइट्रोभेट १८० थान, डाइजोलैप ३० थान, नोर्फिन ३० थान र फेनरागन ३० थान फेला परेको थियो।
यसैगरी पर्सा जिल्लाको ईनर्वाबाट पनि प्रहरी एकजनालाई लागुऔषधसहित पक्राउ गरेको छ। रक्सौलबाट बीरगंजतर्फ पैदल हिडरे आइरहेका मकवानपुर मनहरी गाउँपालिका-८ बस्ने २२ वर्षीय घनश्याम विकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो। विकको साथबाट नाइट्रभ्याट ट्याबलेट ४५ थान बरामद भएको पर्सा प्रहरीले जनाएको छ।
नाकाहुँदै नेपाली युवकहरु लागुऔषध सेवनगर्न भारतीय बजार पुग्ने गरेका छन्। खुल्ला सीमाका कारण भारतीय बजार नेपाली युवकहरुका लागि लागुऔषध सेवनगर्न पायकस्थान बन्दै गएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४