जनकपुरधाम- मधेश केन्द्रीत ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र अहिले विधानको विवादले उग्ररुप लिएको छ। खासगरी अध्यक्षमण्डलका सदस्यहरुले निर्वाचन आयोगमा बुझाएका विधान र कार्यकर्तामाझ बाँडिएको विधान फरक भएपछि पार्टीका दोस्रो तहका नेतादेखि तल्लो तहको कार्यकर्ताहरु रुष्ट बनेका छन्।
पार्टीका दोस्रो तहका नेता तथा तल्लो तहका कार्यकर्ताहरु एकल अध्यक्षीय प्रणालीका पक्षमा छन् भने अध्यक्षमण्डलका केही सदस्यहरुले भने विगतझैँ अध्यक्षमण्डलीय व्यवस्था हुनुपर्ने धारणा राखेका छन्। आगामी महाधिवेशनपछि पार्टीमा एकल अध्यक्षीय प्रणालीको व्यवस्थासहितको प्रस्ताव विधान मस्यौदा समितिले अध्यक्षमण्डललाई बुझाएका थिए। तर अध्यक्षमण्डलले निर्वाचन आयोगमा समितिको प्रस्ताव विपरित विधान बुझाएपछि असन्तुष्टी बढेको हो।
महाधिवेशनपछि एकजना अध्यक्षमात्र निर्वाचित हुने भएकाले ६ पार्टीका अध्यक्षहरु आफ्नो स्थान सुरक्षित राख्न अध्यक्षमण्डलको पक्षमा रहेको आमकार्यकर्ताको बुझाइ छ । तर यो व्यवस्थाले राजपा पार्टी भन्दा पनि गठबन्धनको रुपमामात्र अघि बढ्ने कार्यकर्ताहरु बताउँछन्।
राजपाले विहिबार महोत्तरी सदरमुकाम जलेश्वरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको थियो। कार्यक्रममा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता पनि थियो। प्रशिक्षण कार्यक्रममा उपस्थित कार्यकर्ताहरुले पार्टी विधानको कुरा उठाए। त्यहाँ जिज्ञासा राख्ने अधिकांश कार्यकर्ताहरुले पार्टीलाई जीवन्त राख्न एकल अध्यक्षीय प्रणाली हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा उपस्थित राजपा अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले ६ वटा टाउको रहेको राजपालाई एउटा टाउको बनाउनुपर्ने बताए। अहिलेकै तरिकाले पार्टी कुनै हालतमा चल्न नसक्ने भण्डारीको भनाइ थियो।
उनले भने,‘राजपा अहिले नीजि कम्पनी झैं चलेको छ, यसलाई पार्टी बनाउनु पर्यो । यसरी काम चल्नेवाला छैन्।’अध्यक्षमण्डलका अर्का सदस्य राजेन्द्र महतोले अहिलेसम्म पार्टी घोषणामात्र भएको र आफूहरु पार्टी बनाउने क्रममा रहेको उनले बताए।
पार्टीको विधानबारे बोल्दै महतोले आमकार्यकर्ताको भावना समेटिने विश्वास दिलाए। आयोगमा बुझाइएको भन्दा फरक विधान कार्यकर्तामाझ बाँडिरहेको आरोप लागि रहेको बेला अध्यक्षमण्डल सदस्य महतोले केन्द्रीय समिति कस्तो रहने यसबारे छलफल चलिरहेको बताए। पार्टी एकल अध्यक्षीय प्रणाली वा अध्यक्षमण्डलको प्रणालीमा जाने विषयमा कार्यकर्ताहरुको भावना अनुसार निर्णय हुने उनले विश्वास दिलाए।
यता राजपाका महामन्त्री तथा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले आफू विधानभन्दा पनि पार्टीको पक्षमा रहेको प्रतिक्रिया दिए। ‘प्रणाली कुनै खराब हुन्न, चलाउने तरिकामा निर्भर हुने हो,’ नेपाल समयसँग कुरा गर्दै सोनलले भने, ‘अध्यक्षमण्डल प्रणालीलाई पनि नराम्रो भन्न सकिन्न, परिणाम काम गर्नेको नियतमा भर पर्दछ।’ कामगर्नेको नियत र समन्वय ठिक भए जुनसुकै प्रणाली रहेपनि केहि फरक नपर्ने उनको भनाइ थियो । यद्यपी यसबारे पार्टीको महाधिवेशनबाट निर्णय गरिने सोनलले बताए।
राजपाका एकजना उपाध्यक्षले अध्यक्षमण्डलीय प्रणालीका कारण पार्टी लथालिङ हुन थालेको भन्दै व्यवस्थित बनाउन एकल अध्यक्ष हुनुपर्नेमा जोड दिएका छन्। पार्टीमा अध्यक्षमण्डलीय व्यवस्थाको आफूहरु विरोधमा रहेको भन्दै एकल अध्यक्षको विषयमा छलफल चलि रहेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४