मंगलबार, भदौ २, २०८३

महोत्तरीमा मिटरब्याजीविरुद्ध परे १७ सय उजुरी

सरकारले अध्यादेश ल्याएर अनुचित लेनदेन गरेका व्यक्तिलाई कारबाही गरिने घोषणा गरेसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउनेको संख्या बढ्दै।
 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

महोत्तरी–सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध १ हजार ७३४ उजुरी दर्ता भएका छन्।

सरकारले अध्यादेश ल्याउँदै अनुचित लेनदेन (मिटरब्याज) गरेका व्यक्तिलाई कारबाही गर्ने भन्दै पीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन समय दिएपछि अहिले महोत्तरीमा मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउनेको संख्या बढ्दै गएको हो । गत १८ वैशाखदेखि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न थालेका हुन्। यो क्रम जारी छ।

जिल्ला प्रशासन कार्यालयले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउन आउने पीडितका लागि सूचना संकलन गर्ने, परामर्श दिने र उजुरी दर्ता गर्ने काम गरिरहेको छ ।

यसअघि जिल्ला प्रशासनले मिटरब्याजीविरुद्ध सरकारको उजुरी दर्ता गराउने अवधि किटान हुनु अगाडि पनि जिल्ला प्रशासन कार्यालयले मिटरब्याजीविरुद्ध ३२१ ठाडो निवेदन दर्ता गरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको थियो।

३२१ निवेदनमध्ये २१ वटामा मिलापत्र, ३८ वटामाथि छानबिन गरिसकेको र केही मुद्दा जिल्ला अदालतमा कारबाही प्रक्रियामा रहेको सहायक प्रजिअ न्यौपानेले बताए।

जिल्ला प्रशासन कार्यालयमा आउने मिटरब्याजीपीडित बढीजसो जिल्लाको उत्तरवर्ती क्षेत्रका छन्। बढी ऋण दिने अनिरुद्ध साह, श्याम परदेशी र सञ्जय रौनियारविरुद्ध सबैभन्दा बढी उजुरी परेको बताइएको छ।

प्रकाशित: May 24, 2023| 11:08 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्