काठमाडौं । साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’ र हेमन्ती जोशीका दुई नयाँ कृति राजधानीमा विमोचन भएका छन्।
श्रेष्ठ प्रिया ‘पत्थर’को मुक्तक संग्रह ‘तलतल’ र हेमन्ती जोशीको कविता संग्रह ‘अक्षरको आकाश’ एक कार्यक्रमबीच विमोचन गरिएको हो।
गजलकार ज्ञानुवाकर पौडेल, समालोचक लक्ष्मणप्रसाद गौतम तथा लेखकद्वयले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन्।
कार्यक्रममा समालोचक तथा प्रमुख अतिथि लक्ष्मणप्रसाद गौतमले श्रेष्ठ प्रिया ‘पत्थर’ र हेमन्ती जोशीलाई लामो समयदेखि पढ्दै र सुन्दै आएको उल्लेख गर्दै दुवै सर्जकले नेपाली साहित्यमा निरन्तर योगदान दिइरहेको बताए।
उनले श्रेष्ठ प्रिया ‘पत्थर’ले लामो समयदेखि नारी हस्ताक्षरलाई साहित्यमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको धारणा राखे।
गजलकार ज्ञानुवाकर पौडेलले श्रेष्ठ प्रिया ‘पत्थर’लाई गजल क्षेत्रमा सिद्धहस्त सर्जकका रूपमा चित्रित गरे। उनले सुदूरपश्चिममा रहेर नेपाली साहित्यको विभिन्न विधामा सक्रिय दुवै सर्जकको योगदान महत्वपूर्ण रहेको बताए।
सुदूरपश्चिमको धनगढीलाई कर्मथलो बनाएर लेखनमा सक्रिय श्रेष्ठ प्रिया ‘पत्थर’ र हेमन्ती जोशी नेपाली मुक्तक, गजल, कविता तथा आख्यानका क्षेत्रमा परिचित नाम हुन्। दुवै सर्जक नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभा सदस्यसमेत हुन्।
श्रेष्ठ प्रिया ‘पत्थर’का विभिन्न विधाका कृति प्रकाशित छन्। उनी गजल, मुक्तक तथा आख्यान लेखनमा सक्रिय छिन्। हेमन्ती जोशीले पनि कथा, गजल, मुक्तक र कवितामा कलम चलाउँदै आएकी छन्। उनका ‘पत्रपत्र जिन्दगी’, ‘प्रतिविम्ब’ लगायतका कथा संग्रह तथा ‘मनहरू जित्न सकेँ’ गजल संग्रह र ‘बगरदेखि सगरसम्म’ मुक्तक संग्रह प्रकाशित छन्। दुवै पुस्तकलाई प्रिया पत्थर साहित्य परिषद्ले प्रकाशन गरेको हो।