सिरहा- सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाम चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ का ७८ वर्षीय कमलबहादुर श्रेष्ठ रहेका छन्। बुधबार बिहान करिब ६ बजे कसहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प १६३६ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका श्रेष्ठलाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते श्रेष्ठलाई स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि विराटनगर लगिएको थियो। सुनसरीको हरिनगरस्थित सरकारी अस्पतालमा जाँच तथा मुटुको परीक्षण गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान ल्याउने तयारी भइरहेको छ। मोटरसाइकल र चालक विमल कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।