काठमाडौ- अहिले नेकपाभित्र एउटा नयाँ भनाइ भाइरल भएको छ। त्यो हो- नेता तथा कायकिर्ता अर्गानिक वा रासायनिक। बिशेष गरी प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओली समूहबाट यस्तो भनाइ भाइरल बनाइएको हो ।
अर्गानिकको अर्थ पहिलेदेखि नै ओलीको गुटमा लागेका नेता तथा कार्यकर्ता भन्ने बुझिन्छ भने रासायनिकको अर्थ अन्य गुट छोडेर ओली गुटमा सामेल भएका नेता तथा कार्यकर्ता भन्ने बुझिन्छ।
नेताहरुको भनाइ अनुसार अहिले नेकपाभित्र विधि र प्रक्रिया नपुगे पनि अर्गानिकहरुले महत्वपूर्ण फाईदा उठाइरहेका छन्। नेकपा सचिवालय सदस्य वादेव गौतम र ईश्वर पोखरेल समेत रासायनिक गुटका मानिन्छन्। किनकि झलानाथ खनाल अध्यक्ष भएको बखत उनीहरु दुबै ओलीको बिपक्षमा थिए।
पार्टीको नवौं महाधिवेशन केही अघि मात्र उनीहरु दुबै ओलीको पक्षमा लागेका थिए। त्यसैकारण उनीहरु रासायनिक नेताको गणनामा पर्छन्। महासचिव बिष्णु पौडेललाई समेत भने रासायनिक नेताको कोटीमा राखेका छन्। लामो समयदेखि ओलीलाई साथ दिएका भए पनि पौडेलले आठौं महाधिवेशनमा झलनाथ खनाललाई साथ दिएका थिए। नवौ महाधिवेशन अघि मात्र उनी ओली समूहमा प्रवेश गरेका हुन्।
पछिल्लो समयमा आएर अर्गानिक भनाइ व्यवहारमा समेत देखिएको छ। प्रदेश कमिटीको नेतृत्व चयन गर्दा यस्तो देखिएको हो। पार्टीको सचिवालय बैठकले नेतृत्व छनोटका लागि मापदण्ड तयार गरेको थियो। सोही बमोजिम अनुसार नेतृत्व छनौट गर्दा सम्बन्धित कमिटीमा वरिष्ठता, योग्यता क्षमता, लगायतका बिषय समावेश थिए। तर प्रदेश एकमा यो मापदण्ड लागु भएन।
प्रदेश एकबाट अर्गानिक नेताको खोजी भयो। प्रदेश एकका केन्द्रीय सदस्यमध्ये जगन्नाथ खतिवडा सबैभन्दा वरिष्ठ मानिन्छन्। तर प्रदेश कमिटीमा सदस्य नै नभएका देवराज घिमिरेलाई मनोनित गरेर संयोजक बनाईयो। जगन्नाथ खतिवडा माधव नेपाल पक्षधर भएकोले यसो गरेको बताईएको छ।
मन्त्री, सांसद, मुख्यमन्त्री, प्रदेशमन्त्री र सांसदलाई पार्टीको कार्यकारी पदमा नल्याउने भनेर मापदण्ड तय भएको थियो। तर अर्गानिक नेता छान्नु परेकोले त्यसको समेत उल्लंघन गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो प्रदेशको संयोजक तोकिएको छ।
त्यसैगरी प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश पाँचका संयोजक तोकिएका छन्। उनीहरु दुबै ओली समूहका अर्गानिक नेता भएकोले मापदण्ड मिचेर संयोजक बनाईएको एक नेताले बताए। एनका अनुसार जिल्ला तथा जनबर्गीय संगठनको एकतामा पनि अर्गानिक नेता खोज्ने काम भईरहेको छ।
तीन महिनादेखि बैठक बस्छ, सर्छ
पार्टीका शीर्ष नेताहरुले नै आफुले बनाएको पार्टीको अन्तरिम विधान मिचेका छन। असार २१ गते बसेको स्थायी समितिको बैठक अहिलेसम्म बसेको छैन। भदौ यता मात्रै यसको तयारीमा बस्ने सचिवालयको बैठक आधा दर्जनभन्दा बढी पटक सरिसकेको छ।
स्थायी समितिको बैठक तीन महिनामा एक पटक बस्नुपर्ने अनिवार्य व्यवस्था छ। त्यसै अनुसार असोज २१ गतेसम्म स्थायी समितिको बैठक बसिसक्नुपर्ने थियो। भदौ १२ र १३ गतेका लागि स्थायी समिति बैठकको मिति तय गरेको भए पनि निर्धारित मितिमा बैठक बस्ने कुनै ग्यारेन्टी छैन।
नेताहरुको व्यस्तताको कारण दिइएको भएता पनि भित्रि कारण भने नेतृत्वको किचलो रहेको एक नेताले बताए। पार्टीको सचिवालय र नेताहरुबीच एकातिर सहमति हुन सकेको छैन भने तल्ला कमिटी र जनबर्गीय संगठन एकीकरणका लागि गठित कार्यदलमा नेतृत्वलाई लिएर ठूलो तनाव छ। कार्यदलमा विवाद भएपछि पार्टीका शीर्ष नेताको मुख ताक्नुको विकल्प नभएको एक नेताले बताए।
कात्तिक १२ र १३ गते हुने भनिएको स्थायी समितिको बैठक समेत अनिश्चित भएको छ। बिहीबार बसेको सचिवालय बैठकमा समेत यस बिषयमा छलफल भएन। प्रदेश कमिर्टी सदस्य तथा केन्द्रीय सदस्यको जिम्मेवारी सम्बन्धी गृहकार्य गर्न महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई जिम्मा दिइएको छ। कार्यदलले आवश्यक गुहकार्य गरेर प्रदेश कमिटी सदस्य तथा केन्द्रीय सदस्यको जिम्मेवारी सचिवालयको बैठकमा प्रश्तुत गर्नेछ। सचिवालय बैठकले निर्णय गरेपछि स्थायी समितिको बैठकमा प्रश्तुत गर्नुपर्नेछ।
अध्यक्ष प्रचण्ड शुक्रबार भारत जाने कार्यक्रम रहेकोले यस बिषयमा थप छलफल हुने छैन। शनिबार पार्टीको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम रहेकोले त्यस दिन पनि संभव छैन। नेताहरु नारायाणकाजी श्रेष्ठ र ईश्वर पोखरेल समेत चीन भ्रमणमा छन्। यसैकारण पनि यस अघि निर्धारण गरिएको स्थायी समितिको बैठक फेरि सर्ने संभावना रहेको एक नेताले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४