इस्तानबुल- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।
आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान लागेको पाकिस्तानी विदेश मन्त्रालयलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।
खान प्रधानमन्त्री भएपछि उनको यो पहिलो पटक चीन भ्रमणमा जान लागेका हुन् । उनको भ्रमण टोलीमा अन्य उच्च अधिकारी पनि सहभागी हुने भएका छन् ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उनको भ्रमणले दुई देशको सम्बन्ध थप राम्रो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । त्यसैगरी आपसी सहकार्य र सहयोग आदानप्रदानका बारेमा पनि भ्रमणका क्रममा छलफल हुने विज्ञप्तिमा जनाइएको छ ।
भ्रमणका क्रममा खानले चिनियाँ नेताहरूसँग छलफल तथा भेटवार्ता गर्नुका साथै थुप्रै सम्झौतामा हस्ताक्षर पनि गर्ने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री खानले बेइजिङसँगै साङ्घाई पनि भ्रमण गर्ने भएका छन् । उनले चीनमा रहँदा प्रथम चिनियाँ इन्टरनेशनल इम्पोर्ट एक्सपोर्टमा पनि सहभागिता जनाउने कार्यतालिका रहेको छ । एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४