रौतहट- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले फेरि संघीय सरकारप्रति आक्रोश पोखेका छन्। संघीय सरकारविरुद्ध आक्रोश पोख्दै मुख्यमन्त्री राउतले भने, 'केन्द्र सरकारसामु हात पनि जोड्दिन र शिर पनि झुकाउदिन्।'
रौतहटको गौरमा जमिअतउलमाए नेपालले बिहिबार आयोजना गरेको ‘अल नेपाल शैक्षिक जागरण’ सम्मेलनमा बोल्दै राउतले प्रदेशलाई संकुचित पारेर संघीयता धरापमा पार्ने षडयन्त्र केन्द्र सरकारले गरिरहेको आरोप लगाए।
‘संघीय सरकारले हामीलाई अधिकार दिन चाहेको छैन,’राउतले भने,‘प्रदेशलाई अधिकाबिहीन अवस्थामा राखेर संघीयता समाप्त गर्ने षडयन्त्र भइरहेको छ। तर, हामी सचेत छौं।’
राज्यले सबै नागरिकलाई समान अधिकार नदिएका कारण भेदभाव बढेको भन्दै राउतले मुस्लिम समुदायको अधिकार सुनिश्चित गराउन मदरसा बोर्ड गठनप्रति प्रदेश सरकार गम्भीर रहेको बताए।
विगतमा मुस्लिमहरुको इद, बकर इदलगायतका पर्वहरुमा विदा दिइए पनि वर्तमान सरकारले बदनियतपूर्ण तरिकाले कटौती गरेको उल्लेख गर्दै उनले प्रदेश सरकार ती सबै पर्वमा विदा दिएकोले केन्द्र सामु हात नफैलाउन आग्रह गरे।
प्रदेश २ शैक्षिक दृष्टिकोणबाट पिछडिएकाले गुणस्तर वृद्धि गर्न प्रदेश सरकार गम्भीर रहेको उनको भनाइ थियो। संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले हरेक नेपालीलाई शिक्षित बनाएर अशिक्षालाई अन्त्य गरिने दाबी गरे। कुल जनसंख्याको ५० प्रतिशत बालबालिका प्रदेश २ मा रहेकोले प्रदेश सरकारसँग समन्वय गरी अघि बढने उनको प्रतिवद्धता थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४