काठमाडौं- यूवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद पर्यटनको विकासको लागि सरकार कटिवद्ध रुपमा लागिरहेको विश्वास दिलाएका छन् । भारतीय संस्था राईड दि हिमालयनले अक्टोवर १० देखि १३ सम्म आयोजना गरेको २० औं राईड दि हिमालयन रेस-२०१८ को उपाधि जितेका धुनषाका ३४ वर्षीया दीपककुमार साहलाई सम्मानको लागि आयोजना गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले यस्तो बताएका हुन् ।
नेपालका हिमाल, पहाड र नदीका तिरमा साहसिक खेलकुद प्रतियोगिता गर्न सकिने र सरकारले त्यसको बारेमा सोचिरहेको मन्त्री विश्वकर्माले जनाए ।
उनले भने, ‘आफ्नै तयारी, ईच्छा, चाहना र लगावको आधारमा दीपकले नेपालको शीरलाई फेरी एकपटक विश्वमा चिनाउन सफल भए । राष्ट्रिय सम्पत्तिको रुपमा आफुलाई साहसिक योद्धा घोषणा गरे । वीरहरुको देशका नागरिकहरु पनि वीर छन् र हुन भनेर संसारलाई सन्देश दिए । यसमा नेपाल सरकारको तर्फबाट तपाईलाई हार्दिक बधाई र सम्मान छ ।’
कार्यक्रममा रेसका विजेता दीपककुमार शाहले नेपालमा पनि साहसिक खेलकुद प्रतियोगिता गर्न सकिने र त्यसको बारेमा आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘उक्त प्रतियोगितामा विश्वका धेरै प्रतियोगिहरुले भाग लिएका थिए । साढे ४ हजार मिटर उचाईमा माईनस २० डिग्री तामक्रममा मैले उक्त रेसको उपाधि जिते । यो मेरो जित होईन ।
देशको जित हो । अघिल्लो वर्षपनि भाग लिएको थिए । खुट्टा भाँचियो । यो वर्ष मैले उपाधि जिते । बाटोमा कतै थोरै पनि हरेस सिर्जना हुँदा नेपाललाई सम्झिन्थे । बाईकको सिसाबाट मेरो शरिरमा भएको नेपालको झण्डा देख्थे । त्यसपछि साहस बढ्थ्यो, त्यही साहसकासाथ मैले रेसको प्रतियोगिता जित्न सफल भए ।’
रेसको २० औं संस्करणमा नेपालबाट प्रतिनिधित्व गरेका दीपक कुमार साहले भारतको लेह, लदाख, कारगिल र काश्मिरमा सम्पन्न भएको प्रतिष्पर्धामा बाईक चलाउँदै गरेको अनुभव सुनाउँदै आफूले वीरपुर्खालाई सम्झेको बताए । उनले भने, ‘काश्मिरको लेखमा चढ्दै गर्दा मैले हाम्रो पूर्खालाई सम्झेको थिए । देशको स्वाभिमान र राष्ट्रियताका बारेमा सम्झेको थिए ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४