बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफन्तको जग्गा जोगाउन वडाअध्यक्षले विद्यालय भत्काए, विद्यार्थी सडकमा पढ्दै 

आफन्तको जग्गा जोगाउन वडाअध्यक्षले विद्यालय भत्काए, विद्यार्थी सडकमा पढ्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित राजर्षी माध्यमिक विद्यालयका छात्रछात्राहरु बिहिबार बीच सडकमै पठनपाठन गरिरहेको दृश्य देखियो। 

दशैं विदापछि सुरु भएको विद्यालयको पहिलो दिन विद्यालय लागेको थियो उनीहरुको। त्यहाँ पढ्ने विद्यार्थीहरुको विदापछि विद्यालय लागेको पहिलो दिननै सडकमा बसेर पठनपाठन गर्ने रहर होइन बाध्यता थियो। सडकमा कक्षा लिन बसेका उनीहरु सबैले आ-आफ्नो मुख मास्कले छोपेको दृष्य विद्यार्थीहरुको पीडा वर्णन गरिरहेको थियो।

सडक विस्तारको नाममा उपमहानगरपालिका कार्यालय र वडा कार्यालयले विद्यालय भवनको पाँचवटा कक्षाकोठा डोजर लगाएर भत्काइ दिएपछि करिब ६ सय विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। कक्षाकोठा नभएपछि विद्याथीहरु विद्यालयको चौर र बराण्डामा पढ्दै आइरहेका छन्। 

अब धेरै दिन यसैगरी पढ्न नसकिने भन्दै भवन निर्माणको माग राख्दै विद्यार्थीहरुले विद्यालय अघिको बीच सडकमै डेस्कबेन्च राखेर पठनपाठन गरेका हुन्। शिक्षकहरु पनि सडकमै आएर विद्यार्थीलार्इ पढाए भने बाटो दुर्इ घण्टा पूर्णरुपमा अवरुद्ध भयो।  विद्यालय भवन तोडिएपछि त्यहाँका विद्यार्थीहरु छेउकै सडकबाट उड्ने धुलो खान बाध्य भएका छन्।

त्यहाँका वडा अध्यक्ष रामेश्वर महासेठले मापदण्ड भित्र नपरेको विद्यालय भवन जर्बजस्ती भत्काउन लगाएको विद्यार्थी, विद्यालयका प्रधानाध्यापक तथा स्थानीयहरुको आरोप छ।

वडाअध्यक्ष महासेठले विद्यालयको विपरित उत्तरतर्फ आफन्तका जग्गा जोगाउन विद्यालय भवनलाई निशाना बनाइ भत्काउन लगाएको स्थानीयहरु बताउँछन्। सार्वजनिक व्यक्ति भएर पनि वडा अध्यक्ष महासेठले सार्वजनिक सम्पत्ति मास्न लगाएको वडा सदस्य महेन्द्र महतोले बताए। वडा अध्यक्षले सडकको बीचैमा वडा कार्यालय निर्माण गर्न लगाएर विद्यालय भवन भत्काएको उनको आरोप छ।

त्यसैगरी स्थानीय चेतनारायण साहले वडा अध्यक्षले राजनीतिक प्रतिशोध साध्न विद्यालय भवन भत्काउन लगाएर विद्यार्थीहरुको भविष्यसँग खेलबाड गरेको आरोप लगाए। चेतनारायणझैं त्यहाँका अधिकांश स्थानीयवासी विद्यालय भवन भत्काउन लगाएको भन्दै उपमहानगरपालिका र वडाअध्यक्षविरुद्ध आक्रोशित बनेका छन्।

विद्यालयका प्रधानाध्यापक बीरेन्द्रप्रसाद यादवले सडकको नाप नक्सा नै नगरी रातीको समयमा डोजर लगाएर वडाअध्यक्षले विद्यालय भवन भत्काउन लगाएको आरोप लगाएका छन्। आफन्त तथा आफ्ना समर्थकहरुको जग्गा जोगाउन वडाअध्यक्षले षडयन्त्रपूर्ण तरिकाले विद्यालय भवन भत्काउन लगाएको प्रधानाध्यापक यादव बताउँछन्।

भत्काइएका विद्यालय भवन यथाशीघ्र निर्माण नगरिए अध्ययनरत विद्यार्थी तथा स्थानीयहरु सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने उनको भनाई छ । वडाअध्यक्ष महासेठले आफन्त पर्ने भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उपमहानगरपालिकाका मेयर लालकिशोर साहको दम्भ देखाएर विद्यार्थीहरुको भविष्यसँग खेलवाड गरिरहेको उनको आरोप छ।

यता वडा अध्यक्ष महासेठले आफुहरुले विद्यालय भवन नतोडेको दाबी गरेका छन्। विद्यालयका प्रधानाध्यापक यादवले आफै डोजर लगाएर भवन तोड्न लगाएको उनको भनाइ छ। 

तर, स्थानीयहरुले वडाअध्यक्ष आफै उभेर विद्यालय भवन भत्काउन लगाएको तस्विर आफूहरुसँग रहेको बताउँछन्। विद्यालय भवन भत्काइएको विरोधमा यसअघि हजारौँका संख्यामा पुगेका कुर्थावासीहरुले उपमहानगरपालिका कार्यालय , जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।