काठमाडौं- कहिलेकाँही सानो लोभले पनि जीवनमा अकल्पनिय विपत्ति र नोक्सानी निम्त्याउँछ। हामीसँग भएका नागरिकता, लालपुर्जाजस्ता कागजपत्र सामान्यजस्तो लाग्न सक्छ। तर, जब तीनै कागजपत्र विश्वासमा कसैलार्इ सुम्पिन्छौं, त्यसले जीवनमै ठूलो दुर्घटना निम्त्याउन सक्छ।
पाँच सयमा नागरिकतालगायतका कागजपत्र बेच्दा सवा करोड जरिवाना र जेल सजाय भोग्नु परेको एउटा कान्ड खुलासा भएको छ। विस २०५२ मा ललितपुर धापाखेल-९ का सामान्य व्यापार गर्ने रामकुमार खडका साथिमार्फत भारतीय नागरिक रामकुमार अग्रवालको सम्पर्क आए। साथिहरुको विश्वासमा उनले भारतीय नागरिक अग्रवाललार्इ पाँच सय रुपैया लिएर आफ्नो नागरिकता सुम्पे।
अग्रवालले खड्काको नागरिकता प्रयोग गरेर दिपक ट्रेड कर्न्सन स्थापना गरे। सोही कम्पनीको कागजपत्रका आधारमा राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रतितपत्र (एलसी) लिएर विदेशी मुद्रा सटही गर्न थाले। सटही गरेको विदेशी मुद्रा बैंकिङ प्रणालीमार्फत कारोबार गरिनुपर्ने प्रावधान छ। तर, अग्रवालले सटही गरेको उक्त रकम बैंकलार्इ छलेर पाँचकरोडभन्दा बढी अमेरीकी डलर अपचलन गरे।
त्यसपछि उक्त मुद्दा पुनरावेदन अदालत पाटन अदालतमा पुग्यो। पुनरावेदन अदालत पाटननले १८ बर्ष पहिले अर्थात २०५७ कार्तिक २१ गते कागजपत्रको आधारमा खडकालाई एक करोड २३ लाख ५३ हजार आठ सय ८० रुपैया ३६ पैसा जरिवाना तथा एक बर्षको जेल सजाय सुनायो।
अदालतको फैसालापछि खड्का फरार भए। फरार रहेका खडकालाई बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले धापाखेलबाटै पक्राउ गरेको हो। बुधकार पक्राउ परेका खडकालाई काठमाडौं जिल्ला अदाततले कैद भुक्तानको लागी डिल्लीबजार सदर खोर पठाएको छ।
प्रहरीसंगको बयानका क्रममा खडकाले आर्थिक प्रलोभनमा परि नागरिकतासहित कागजपत्र भारतीय नागरिकलाई प्रयोग गर्न दिएको स्वीकार गरेका छन्। खड्काले आफ्ना कागजपत्र पाँचसय रुपैयामा भारतीय नागरीक रामकुमार अग्रवाललाई प्रयोग गर्न दिएको बयान दिएका छन्।
भारतीय नागरिक रामकुमार अग्रवाललाई भने हालसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४