कतिपय अवस्थामा नचिताइएको सानो कुराले पनि हाम्रो जीवनको यात्रा मोडिदिन सक्छ। यस्तै भयो बलिउडमा बनेको एउटा चलचित्र ‘डन’ को हकमा।
सन् १९७८ मा बनेको चलचित्र ‘डन’का नायक थिए अमिताभ बच्चन, जो यसै चलचित्रबाट त्यतिबेलाका ‘वन म्यान इन्डष्ट्री’ बन्न पुगे। त्यसअघि पनि केही हिट चलचित्र दिइसकेका अहिलेका महानायक अमिताभको चरित्र डनमा प्रख्यात भयो।
त्यतिबेलाको सुपरहिट उक्त चलचित्रलाई सुरुमा फ्लप घोषित गरिएको थियो। तर एउटा गीत ‘खइके पान बनारस वाला’ले यस्तो चमत्कार गर्यो कि पछि त दर्शक चलचित्रको टिकट लिन घण्टौं लाइन बस्न थाले।
ऋण चुक्ता गर्न बनाइएको चलचित्र बन्यो सदाबहार
डन चलचित्रका निर्देश चन्द्रा बरोट हुन्, जसको यो पहिलो चलचित्र थियो। निर्देशक चन्द्रा 'रोटी कपडा और मकान’मा मनोज कुमारलाई असिस्ट गरिरहेका थिए। यस चलचित्रका सिनेमेटोग्राफर नरीमन ईरानी थिए जसको धेरै ठूलो नाम थियो।
वरिष्ठ चलचित्र समीक्षक रामाचन्द्रन श्रीनिवासनका अनुसार नरीमन ईरानीले 'जिन्दगी–जिन्दगी' नामको चलचित्र बनाएका थिए जो नराम्रोसँग फ्लप भएको थियो।
ईरानी १२ लाखको ऋणमा डुबे। त्यतिबेलाको निकै ठूलो रकम थियो यो। ’रोटी कपडा और मकान’ मा सँगै काम गरेका केही कलाकारहरुले ईरानीलाई त्यतिबेला भनेका थिए- तपाईं अर्को एउटा चलचित्र बनाउनुस्। हामी आवश्यक पर्यो भने पारिश्रमिक नलिएरै काम गर्नेछौं। ईरानीले 'डन' चलचित्रमा दाउ लगाए। चलचित्रले टन्नै पैसा कमाउने आश थियो उनको। त्यो कमाइबाट आफ्नो कर्जा चुक्ता गर्ने ध्याउन्नमा थिए उनी।
सुरुमा चलचित्रको नाम डनलाई लिएर पनि आपत्ति थियो सबैमा। त्यसताका डन भन्ने एउटा अन्डरगार्मेन्टको ब्रान्ड थियो, जो निकै प्रचलित थियो। त्यही भएर चलचित्र बजारमा कुनै पनि वितरकले डन नामक चलचित्र किन्न चाहेका थिएनन्।
नामकै कारणले यस्तो अवस्था आइलाग्यो कि वितरकहरुले चलचित्र किन्न इन्कार गरिदिए र पछि फ्लपसमेत घोषित गरियो। तर केही दिनमै यस्तो चमत्कार भयो कि चलचित्र हेर्न सिनेमाघरहरुमा लामो लाइन लाग्न थाल्यो। एउटै गीत हेर्न र सुन्न दर्शक पटक–पटक हल पुग्न थाले। हेर्दाहेर्दै डन सुपरहिट भयो।
जुन ‘डन’ शब्दलाई लिएर हिजोसम्म सबैलाई आपत्ति थियो, त्यससैको डाइलग, ‘डनको पकडना मुस्किल हि नही, नामुमकीन है’ सबैको ओठमा झुण्डिन थाल्यो। ४५ वर्षपछि पनि डन सदाबहार छ।
'खइके पान बनारस वाला' चलचित्रमा राखिएकै थिएन
एउटा गीतले कसरी चलचित्रको इतिहास बनाउन सक्छ भन्ने उदाहरण 'खइके पान बनारस वाला' लाई मान्न सकिन्छ। यो गीत पहिले चलचित्रमा राखिएकै थिएन। नायक अमिताभ बच्चनले आफ्नो ट्वीटमा भनेका छन्, 'खइके पान बनारस वाला' गीत डन चलचित्र पूरा भएपछि सामेल गरिएको थियो।
चलचित्रका निर्देशक चन्द्रा बरोट त्यसबेलाका सुपरस्टार मनोज कुमारलाई असिस्ट गरिरहेका थिए। उनले ‘पूरब और पश्चिम’, ‘रोटी, कपडा और मकान’, जस्ता चलचित्रमा अभिनेता मनोज कुमारलाई असिस्ट गरेका थिए। जब डन तयार भयो, निर्देशक चन्द्राले सो चलचित्र पहिले मनोज कुमारलाई देखाए। मनोज कुमारले भने, सलीम जावेदले लेखेको यो कथा यति चुस्त र कस्सिएको छ र यति थ्रिल छ कि यहाँ अलिकति लचिलो बनाउनुपर्ने आवश्यकता छ। दर्शकलाई लचकता दिनुपर्छ। यसै सल्लाहलाई मानेर निर्देशकले ‘खइके पान बनारस वाला’ गीत पछि थपेका हुन्।'
ठेट बनारसी पाराको यो गीत लेखेका थिए अञ्जानले, जो बनारसकै थिए। चलचित्रमा संगीतको जिम्मा लिएका थिए कल्याणजी आनन्दजीले र गीत गाएका थिए किशोर कुमारले।
गीतकार अञ्जानका छोरा समीरले १९१९मा 'आजतक साहित्य' नामको एक कार्यक्रममा भनेका थिए- जब मुम्बईमा 'खइके पान बनारस वाला' को रेकर्डिङ भइरहेको थियो, किशोर कुमार, अमिताभ बच्चन र मेरा पिताजी अञ्जान रेकर्डिङ रूममा हुनुहुन्थ्यो। पिताजीले गीतको बोल किशोर कुमारलाई सुनाउनु भयो। किशोरले भने, यो कस्तो गीत हो- भंग का रंग जमा हो चकाचक। मैले यो शब्द पहिले सुनेकै छैन, म गाउँदिन। फेरि उनलाई ‘खइके पान’ शब्द भनियो। उनी फेरि बिच्किए र अड्डी लिए- म ‘खा के’ भन्छु।
पिताजीले भन्नुभयो, ‘खइके र चकाचक’को अर्थ बुझ्नको लागि तपाईं बनारसको गल्लीमा जानुपर्छ। त्यसपछि किशोरले केही भनेनन्। पछि स्टुडियोमा उनको लागि पान मगाइयो। उनले भने, ‘यो गीत म केवल एक पटकमात्रै गाउँछु । त्यसैले रेकर्डिङमा कुनै गल्ति नहोस्। किशोर कुमारले एक टेकमा नै पूरा गीत गाए।
‘खइके पान बनारस वाला’ डनको लागि लेखिएकै थिएन, अर्को फिल्मको लागि लेखिएको थियो। कल्याणजी आनन्दजीले यसलाई नायक देव आनन्दको चलचित्र बनारसी बाबू (१९७३)को लागि तयार पारेका थिए। तर देव आनन्दलाई गीत त्यत्ति मन परेन र उक्त चलचित्रमा राखिएन।
डन चलचित्र एक अपराधीको कथानकमा माथि आधारित छ। तर डन एउटा यस्तो भावनाको कथा पनि हो जो अप्ठ्यारोमा परेका आफ्ना साथीलाई सहारा दिन बनाइएको थियो। अमिताभ बच्चन, जीनत अमान, प्राण र चन्द्रा सबै त्यतिबेलाका चर्चित र सर्वाधिक रुचाइएका कलाकार थिए। तर आफ्नो साथीको टाउकोमा आइपरेको ऋणको भार उतार्न सबै हातेमालो गरेका थिए।
चलचित्र निर्माणको समयमा ठूलो दुर्घटना भयो। सुटिङकै क्रममा चट्याङ परेर इरानी घाइते भए र पछि उनको निधन भयो। सबै कलाकारले चलचित्रको पारिश्रमिक नलिएरै काम पूरा गरे। जब चलचित्रले राम्रो कमाइ गर्न थाल्यो, अनि बल्ल सबै कलाकारलाईमा पैसा बाँडिएको थियो।
डनका लागि अमिताभ बच्चनलाई फिल्मफेयर पुरस्कार पनि प्रदान गरियो। डन त्यसबखतको स्टाइलिस चलचित्रमध्ये पर्न गयो, जसमा खलनायकहरु पूरै आधुनिक पहिरन र जीवनशैली बाँचिरहेका थिए।
डनमा अमिताभमात्रै नभएर बाँकी कलाकारका चरित्र पनि उत्तिकै सशक्त छन्। रोमाको चरित्रमा जीनत अमानको चुनौतीपूर्ण चरित्र महत्वपूर्ण छ।
त्यस्तै जसजीतको चरित्रमा प्राण महत्वपूर्ण भूमिकामा छन्। त्यसताका कुनै हिरोभन्दा धेरै पारिश्रमिक लिन्थे प्राणले। चरित्र जस्तो भए पनि डीएसपी डी सिल्वा बनेका इफतेखार, वरदान बनेका ओम शिवपुरी, इन्सपेक्टर वर्मा बनेका सत्येन कप्पू, नारङ वा डनका ग्याङसहित उनकी प्रेमिका अर्पणा चौधरी र हेलेनलगायत सबै कलाकार सशक्त थिए। डनका लागि गायिका आशा भोसले र किशोर कुमार दुवैलाई फिल्मफेयर पुरस्कार प्रदान गरिएको थियो।
- बीबीसी इन्डियाकी टीभी एडिटर वंदनाले तयार गरेको सामग्रीको भावानुवाद