वीरगन्जमा अब बन्ने सडकको प्रतिकात्मक तस्वीर ।
वीरगन्ज- लामो समयपछि गृहनगर फर्किंदा सडकको दुरावस्था देखेर जोकोहीको मन कुडिन्छ । सडकमार्गबाट सार्वजनिक सवारीमा यात्रा गर्दै यहाँ आइपुग्ने यात्रु बसपार्क भानुचोकमा ओर्लिंदा धुलोले स्वागत गर्छ । त्यस अघि नै सडकको खाल्डाखुल्डीले शरीरका सबै मांशपेशी र हाडजोर्नीलाई पर्याप्त मात्रामा कसरत गराइ सकेको हुन्छ ।
दक्षिणी सीमाको यो शहरको बसाईलाई टुङ्गयाउँदै उल्टो यात्रा पो गरौं कि भन्ने दोधारको मनस्थितिमा पनि पुर्याइदिन्छ पहिलो पटक वीरगन्ज पाइला टेक्ने यात्रुलाई ।
शहर प्रवेश गर्ने सडकको दुबैतर्फ मोटर ग्यारेजमा थन्किएका पुराना र थोत्रा गाडीले यो शहर थोत्रा गाडीको डम्पिङ्ग साइड त होइन भन्ने भान पनि पर्न सक्छ । अझ व्यापारीले आफ्नो परिसरमात्र नभएर सडकमै समेत वर्षौदेखि थोत्रा कवाडी गाडीहरु असरल्ल पारेर थन्क्याउँदा शहरको कुरुप चित्रण गराइदिन्छ ।
तर अबको दुईवर्षपछि भने शहरको मध्यभागमा उत्तरदेखि दक्षिणसम्म फैलिएको मुख्य बाइपास सडकको यस्तो दयनीय अवस्था हुनेछैन । चिल्लो सडकमा सर्रर हुइकिने गाडीले परवानीपुरदेखि भानुचोकसम्मको ८.५ किलोमिटर दूरीको यात्रा कतिबेला पुरा गर्यो भन्ने भेउ पाउनेछैनन्,यात्रुले ।
वीरगंज महानगरपालिकाले एशियाली विकास बैंकको सहयोगमा गण्डकदेखि इनर्वासम्मको ७.२ किमि लामो मुख्य बाइपास सडकको स्तरोन्नती गरेर कालोपत्रेसँगै ६ गल्ली(लेन)सहितको सडक निर्माण गर्ने भएकोले सडकको कायापलट हुने भएको भएको हो ।
३३ मिटर फराकिलो सडकमा दुबैतर्फ सडक पेटी,हलुका सवारीको लागी ३-३ मिटर चौडाइको गल्ली, ठूला सवारीको लागी ४-४ मिटरको मुख्य गल्ली निर्माण गरिने परियोजना कार्यालय प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिए । यो सँगै सौर्य उर्जाबाट झिलिमिली हुने गरी सडक बत्ति समेत जडान गरिनेछ ।
घण्टाघरदेखि गहवा टोल हुँदै छपकैयाँ पोखरी जोड्ने रेलवे रोड, घण्टाघरदेखि भानुचोक जोड्ने लिंक रोड र चिनीमिल आवास क्षेत्रदेखि पिपरा जोड्ने लिंक रोडको पनि स्तरोन्नती गरिने भएको छ । क्षेत्रिय शहरी कार्यक्रम अन्तर्गत एशियाली विकास बैंकले उपलब्ध गराएको ऋण अनुदानमा महानगरपालिकाको तर्फबाट ७ प्रतिशत रकम योगदान हुनेछ ।
दुईवर्षभित्र सम्पन्न गर्ने योजना रहेको यो परियोजनाको लागत २ अर्ब ३५ करोड रुपैयाँ रहेको परियोजना कार्यालयले जानकारी दिएको छ । रेल रोड,लिंक रोडको ६६ फिट चौडाइभित्रै सडक पेटी र दुईतर्फी गल्ली निर्माण गरिनेछ ।
महानगरले योबाहेक थप ५२ किलोमिटर सडक निर्माणको लागी समेत गतवर्षदेखि नै काम शुरु गरिसकेको छ । सडक विभागले समेत व्यापारिक मार्ग स्तरोन्नती योजना अन्तर्गत परवानीपुरदेखि गण्डकसम्म ६ लेनसहितको ५० मिटर फराकिलोे ४.२४ किमी सडकको निर्माण समेत गराइ रहेको छ । सडक विभागले ४० करोड ३१ लाख रुपैयाँमा यो सडक निर्माणको लागी गत मंसिरमा ठेक्का सम्झौता गरेको हो ।
अहिले शहरभित्र संचालित परियोजनाले महानगरको ५५ प्रतिशत क्षेत्रलाई समेट्नेछ, महानगर प्रमुख विजय सरावगीले नेपाल समयसँग भने, बाँकी ४५ प्रतिशत क्षेत्रमा समेत स्तरिय सडक लगायतको आवश्यक पूर्वाधारको लागी आवश्यक श्रोतको जोहो गर्ने प्रयास जारी छ । शहरी क्षेत्रभित्रको सडक स्तरोन्नतीको ठेक्का सम्झौताका लागी तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
वीरगन्जमा मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना अन्तर्गत करिब ४ अर्ब रुपैयाँको लागतमा ढल निर्माण, ढलको पानी प्रशोधन केन्द्र र फोहोर संकलन तथा प्रशोधन केन्द्र परियोजना अन्तर्गत भौतिक पूर्वाधार निर्माण समेत कार्यान्वयमा छ । शहरी क्षेत्रको ढल निर्माणको कार्य ९६ प्रतिशत सकिएको छ भने फोहोर प्रशोधन केन्द्रको प्रगती जम्मा ३६ प्रतिशत रहेको परियोजना कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४