काठमाडौँ - नेकपाले नेता वामदेव गौतमलाई तत्काल उप निर्वाचनमा लड्न नदिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले सांसद रामवीर मानन्धरको राजीनामा पत्र अस्वीकृत गर्दै नेता गौतमलाई तत्काल उप निर्वाचनमा लड्न रोकेको हो ।
बैठकले काठमाडौं ७ बाट निर्वाचित सांसद मानन्धरले दिएको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकले तत्काललाई उपनिर्वाचनमा नजाने र वामदेव गौतम चुनाव नलड्ने निष्कर्ष निकालेको छ।
बर्दियाबाट गत निर्वाचनमा पराजित गौतमले चुनाव मार्फत सांसद बन्ने इच्छा ब्यक्त गरेपछि काठमाडौं ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले पदबाट राजिनामा गर्दै सो क्षेत्र खाली गर्ने घोषणा गरेका थिए । तर, गौतम पुनः चुनाव लड्ने विषयमा चर्को आलोचना भएपछि उनी ब्याक भएका थिए ।
यस्तै आइतबारको बैठकमा प्रदेश इन्चार्ज र पदाधिकारी नियुक्त गरेको विषयमा नेता माधवकुमार नेपालले जनाएको असन्ुतष्टिका बारेमा पनि छलफल भएको छ । नेता नेपालको अन्तुष्टिका बारेमा दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छोटो जवाफ दिएको स्रोतले जनाएको छ ।
त्यस्तै पार्टीका तल्ला तहको एकीकरणलगायत विषयमा पनि छलफल भएको छ। यस विषयमा थप छलफल भोलीको बैठकमा हुने भनिएको छ । यस्तै भोली सोमबारको बैठकमा सरकारको काम कारबाहीको पनि समिक्षा हुन भएको छ । बैठक सोमबार दिउँसो १ बजे बस्ने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४