बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्यको आधा पनि खसीबोका किन भित्र्याउन सकेन संस्थानले ?

लक्ष्यको आधा पनि खसीबोका किन भित्र्याउन सकेन संस्थानले ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- दशैंको लागि खाद्य संस्थानले लक्ष्यको आधा पनि खसीबोका राजधानीमा भित्र्याउन सकेन । संस्थानले हजार वटा खसीबोका दशैंको लागि राजधानीमा भित्र्याउने लक्ष्य राखेकोमा ३६० वटा मात्रै भित्र्याउन सक्यो बाँकी ६४० वटा भित्र्याउन सकेन । संस्थानले निजी खसीबोका  व्यवासयीहरुसँग प्रतिस्पर्धा गर्न नसक्दा खसिबोका भित्र्याउन नसकेको हो ।

संस्थानका प्रवक्ता शंकर सापकोटाले संस्थानले लक्ष्यअनुसार खसिबोका तथा च्याङ्ग्रा भित्र्याउन नसकेको स्वीकारे । ‘एक हजारको वटा खसिबोका ल्याउने लक्ष्य राखेकोमा ३६० वटा मात्र भित्र्याउन सकियो,’ उनले भने ‘च्याङ्ग्रा भने झन्डै लक्ष्य बराबर नै भित्र्याएका छौं ।’ उनकाअनुसार हजार च्याङ्ग्रा राजधानी भित्र्याउने लक्ष्य राखेकोमा ९११ वटा भित्र्याइएको थियो । बाँकी ८९ वटा भित्र्याउन सकेन ।

दुई हजारको संख्यामा खसिबोका तथा च्याङ्ग्रा राजधानीमा भित्र्याउने उद्देश्य राखेकोमा १२७१ वटा मात्रै संस्थाले ल्याउन सक्यो । बाँकी ७२९ वटा ल्याउन सकेन ।

संस्थाले जिउदो खसीबोको खरिद गर्दा प्रतिकिलो ४३० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ५३० रुपैयाँ निर्धारण गरेको थियो । उक्त निर्धारण मूल्यभन्दा बढी मूल्यमा निजी क्षेत्रका व्यवसायीहरुले खसीबाेका खरिद गर्न थालेपछि संस्थाले खसिबोका किन्न नपाएको प्रवक्ता सापकोटाको भनाइ छ । ‘त्यसैले राजधानीमा लक्ष्यअनुसार खसीबोका भित्र्याउन सकिएन,’ उनले भने ।

संस्थाले खसीबोका तथा च्याङ्ग्रा व्यवसायीहरुभन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तोमा बिक्री गरेको थियो । जसमा जिउदो खसीबोकाको प्रतिकिलो मूल्य पाँच सय र च्याङ्ग्राको सात सय रुपैयाँ तोकेको थियो । ती खसीबोका मकवानपुर र भेडा च्यङ्ग्रा मुस्ताबाट संस्थानले राजधानीमा भित्र्याएको थियो ।

संस्थानकाअनुसार खसीबोका तथा च्याङ्ग्रा असोज २६ गतेदेखि बिक्री शुरु भएको थियो ।  जसमा बिक्री भएको दुई दिनभित्र अर्थात २८ गते खसीबोका भने च्याङ्ग्रा बिक्री शुरु भएको चार दिन अर्थात ३० गते भित्रै बिक्री भइसकेको थियो ।

सरकारले संस्थानले खरिद बिक्री गर्ने खसीबोकाको लागि ३ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । कुल दशैंको लागि संस्थानले भित्र्याएको खसीबोका तथा च्याङ्ग्रा मध्ये तीन वटा मात्रै खसिबोका मरेको र च्याङ्ग्रा एउटै नमरेन प्रवक्ता सापकोटाको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्