काठमाडौं- स्कूले बालबालिकालाई पोषणयुक्त आहार र कुखुरापालक किसानलाई प्रशिक्षण उपलब्ध गराउन श्रीनगर एग्रो र टाइसन फुड इन्कले १ करोड १६ लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।
रुपन्देहीमा अण्डा उत्पादन गर्दै आएको श्रीनगर एग्रो र अमेरिकी बहुराष्ट्रिय कम्पनी टाइसनबीच 'वन एग अभियान' अन्तर्गत नि:शुल्क अण्डा वितरण र कृषकको प्राविधिक दक्षता अभिवृद्धि गर्ने सहमति भएको हो।
परियोजनाले कुखुरा पालन र अण्डा उत्पादनमा स्थानीय किसानलाई प्राविधिक प्रशिक्षणलगायतको आवश्यक सहयोग गर्नेछ। किसानबाट उत्पादित अण्डा १२ वटा विद्यालयका सात सय बालबालिकालाई वितरण गरिने एग फण्डलाई उद्घघृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी ग्लोबल न्युज वायरले उल्लेख गरेको छ।
परियोजनाबाट आगामी दुई वर्षभित्र रुपन्देही, पाल्पा र काठमाडौं जिल्लाका ७ हजार बालबालिकालाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्य रहेको छ। किसानलाई प्रशिक्षण दिने काममा एग फण्डले र अण्डा उपलब्ध गराउन श्रीनगर एग्रोले ५०-५० हजार अमेरिकी डलर सामाजिक उत्तरदायित्व अन्तर्गत खर्चिने भएका हुन्।
नेपालमा ५ वर्ष मुनिका ४६ प्रतिशत बालबालिका कुनै न कुनै खाले कुपोषणको शिकार भइरहेकोले प्रोटिनको आपूर्ति गर्न नि:शुल्क अण्डा वितरण गर्ने भएको हो।
टाइसन फुड अन्तर्गतको कब भ्यानट्रेसका प्राविधिकमार्फत नेपाली किसानलाई कुखुरा पालनबारे प्रशिक्षण उपलब्ध गराइनेछ।
परियोजनाको लागी छनोट गरिएको विद्यालयका बालबालिकालाई दैनिक १ वटाको दरले सातामा ३ पटक नि:शुल्क अण्डा वितरण गरिने छ। श्रीनगर एग्रोको सह संस्थापक मौसमी श्रेष्ठले विनाशकारी भुकम्पले धेरै कुरा ध्वस्त पारेपनि हामीले त्यसमै अवसर देख्यौ, भूकम्प प्रभावितको जीवनमा केही भएपनि सकारात्मक परिवर्तन ल्याउने।
वन एगका कार्यकारी निर्देशक कृश अर्डवेले बढ्दो उमेरका बालबालिकालाई प्रोटिनयुक्त आहार उपलब्ध गराउन सहकार्य गर्न पाउँदा खुशी लागेको प्रतिकृया दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४