पाल्पा- पहिरो खसेपछि शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत गौडेपुल र चर्चरेको बीच कालीमाटी क्षेत्रमा पहिरो खसेको बताइएको छ।
सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा ठूलो पहिरो खसेको छ। स्थानीय बासिन्दाका अनुसार यही स्थानमा गत वर्ष पनि ठूलो पहिरो खसेको थियो। टेवा पर्खाल, ग्याभिन वाल नलगाएकाले पुनः खसेको हुन सक्ने स्थानीयले बताए। सडकमा पहिरो खसेपछि राजमार्गको सुनौलीदेखि पोखरा हुँदै मुस्ताङसम्म चल्ने सवारी साधन अवरुद्ध भएका छन्।
राजमार्गकै सिद्धबाबा क्षेत्रमा निर्माण हुन गइरहेको सुरुङमार्गले राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द गर्छ। राजमार्गमा बिहीबार राति १० बजेदेखि गन्तव्यमा जान नपाएका सवारीसाधन सडकमा अलपत्र परेका छन्। प्रहरीले सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाउने तयारी थालेको जनाएको छ।