बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पर्यटकीय क्षेत्र लिंगेश्वरमा ७ करोडको पूर्वाधार निर्माण हुने

पर्यटकीय क्षेत्र लिंगेश्वरमा ७ करोडको पूर्वाधार निर्माण हुने

 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

दोधारा चाँदनी- कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि रु सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ। बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका हुन्। 

धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले केन्द्र सरकार र बेदकोट नगरपालिकाले संयुक्तरुपमा संरचना निर्माण गर्न ठेक्का सम्झौता गरेका छन्। बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यहाँको पर्यटकीय विकासका लागि सात करोड बजेट विनियोजन गरेर पूर्वाधार निर्माणको काम अघि बढिसकेको बताए। 
    
‘नगरपालिकाले शिव लिङ्गेश्वर धाम र बेदकोट तालको विकास गर्न विभिन्न संरचना बनाउँदै छ,’ उनले भने, ‘हामीले बेदकोट नगरभित्रका पर्यटकीयस्थलको विकासलाई प्राथमिकतामा राखेका छौँ।’ अहिले यहाँ केन्द्र सरकारले ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा विभिन्न पूर्वाधार निर्माण भइरहेका छन्।   
    
भूक्षय भइरहेको ठाउँमा तटबन्ध निर्माण, बाटो विस्तार, सडक कालोपत्र र बिजुली बत्ती पुर्‍याउने काम भइरहेको छ। नगरपालिकाका इन्जिनियर शतिस शामीले पार्किङस्थल, मन्दिर निर्माण, कफी हाउस निर्माण र विवाहमण्डप बनाउने काम अघि बढेको बताए।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी जोशी विल्डर्ससँग ठेक्का सम्झौता भएको छ। बेदकोट नगरपालिकाले यहाँ ‘सेल्फी प्वाइन्ट’को निर्माण गरेको छ। सात वर्ष अघि रु २५ लाखको लागतमा सेल्फी प्वाइन्ट निर्माण गरिएको हो। पछिल्लो समय महेन्द्रनगर आउने आन्तरिक तथा विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन्। लिङ्गेश्वरधाम पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।  -रासस

प्रकाशित: May 04, 2023| 21:02 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्