बिहीबार, साउन ७, २०८३

भन्सार पुनःस्थापना नहुँदा तिब्बतको व्यापार ठप्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
दार्चुला- हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्‍नाको ।

विगतमा दार्चुलाका व्यापारीले तिब्बतबाट सिधै सामान आयात गरी सदरमुकाम खलङगामा व्यापार गर्दै आएका थिए। तर पछिल्लो समय तिब्बतको व्यापार शुन्य छ। तिब्बतबाट आउने सामान ल्याउनको लागि नेपालतिर न बाटो छ न द्वन्द्वकालमा विस्थापित भएका भन्सार कार्यालय नै पुनःस्थापना हुनसकेको छ।

सामान ल्याउने बाटो पूरै अवरुद्ध छ । पाँच छ वर्षयता नेपाली व्यापारीले तिब्बतबाट सामान ल्याउन पाएका छैनन्, व्यापारी गणेश बडुले भने। केही वर्ष भारतीय बाटो भएर सामान ढुवानी गरियो। तर भन्सार निकै महंगो हुनथालेपछि तिब्बती सामान ल्याउन छोडिएको छ। भारतीय व्यापारीले पनि अहिले सडक विस्तारका कारण सामान चीनबाट आयात गर्न सकेका छैनन्। सुरक्षाको कारण देखाउदै द्वन्द्वकालमा विस्थापित भएका दार्चुलाका त्रिदेशीय सीमामा रहेको सितापुल तिंकर छोटी भन्सार, दत्तु र जौलजिवी भन्सार हालसम्म पुनःस्थापना गरिएको छैन् ।

त्रिदेशीय सीमा तिंकरसँग भारतीय बजार र चीनको स्वसाशित क्षेत्र तिब्बत जोडिएको छ। यो नाकाबाट विगतमा राम्रै व्यापारिक सामान आयात–निर्यात हुने गरेको थियो, उद्योग वाणिज्य संघका अध्यक्ष ठगुन्नाले भने, 'हामी तिब्बतबाट जुत्ता, ज्याकेट, कम्बल, भेडा च्याङ्ग्रा आयात गर्ने गरेका थियौ । तर पछिल्लो समय नेपालतिरको बाटो नै अवरुद्ध भएपछि सबै व्यापार ठप्प छ ।'

दार्चुलाको यार्सागुम्बा सिधै तिब्बत चीन निर्यात हुने गरेको थियो । तर भन्सार नहुँदा अहिले नेपालले करौडौंको राजस्व गुमाउनु परेको छ । आफूले राजस्व तिर्ने चाहना हुँदाहुँदै पनि सरकारले भन्सार स्थापना र सडक निर्माणमा ध्यान नदिएको उनको भनाइ छ ।

तिब्बतबाट आयात–निर्यात हुने वस्तुको भन्सार उठाउन नसक्दा वर्षेनी राज्यले राजस्व गुमाउनु परेको छ। तस्करको मुख्य मार्गको रुपमा रहेको सो क्षेत्रमा राज्यको उपस्थिति कमजोर हुँदा राजस्व संकलनमा न्यून हुँदै गएको छ। भन्सार पुनःस्थापना हुने वित्तिकै राज्यले सुरक्षा उपस्थित गराउन सक्छ तर यो कार्यमा राज्यले चासो नलिएको व्यापारी बडु बताउछन्।

अहिले तिंकरमा राज्यको नियमित उपस्थितिको रुपमा नेपाल प्रहरी मात्रै छ । सीमित स्रोत साधनका बीच नेपाल प्रहरी बसेपनि भन्सार राजस्व संकलन गर्न सक्ने अवस्थामा छैन् । व्यास क्षेत्रमा बसोबास गर्ने व्यासीहरुको लागि अधिकांश सामान अहिले पनि तिब्बतबाटै आयात हुने गरेको छ ।

खलंगामा केही व्यापारीले सोहि नाका भएर अवैधरुपमा सामान भित्र्याएर कारोबार गर्ने गरेका छन् । स्थानीयको उपस्थिति नभएको बेला तस्करको लागि तिब्बत सामान ढुवानीमा सजिलो नाका यही हो ।

उक्त नाका भएर आयातनिर्यात गरिने केहि वैध वस्तुको छोटी भन्सार कार्यालय खलंगाबाटै भन्सार चेकपास गर्नुपर्ने बाध्यता रहेको छोटी भन्सार कार्यालयले जनाएको छ । नेपाल–भारत सीमा नाका सितापुलमा छोटी भन्सार नहुँदा प्रहरीले मात्रै चेकजाँच गर्नुपर्ने बाध्यता छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्