सिक्किम- नेपालबाट दैनिक सयौँ नेपाली पर्यटकहरू उत्तरपूर्वी भारतीय राज्य सिक्किमका विभिन्न गन्तव्यहरूमा भ्रमण गरे पनि सिक्किमका भने थोरै मात्रै आगन्तुकहरु नेपाल जाने गरेका छन्। यसो हुनुमा नेपालप्रतिको गलत सूचना नै मुख्य कारण रहेको सिक्किमका सरोकारवालाहरुले बताएका छन्।
सिक्किम सरकारका पर्यटन तथा नागरिक उडड्यन विभागका सहनिर्देशक मदन कुमार प्रधानले नेपालका बारेमा सिक्किमका जनताको धारणा राम्रो भए पनि नेपाल जान झन्झट हुने कुराले कम मात्रै जाने गरेको बताए।
‘नेपाल जान कुनै रोकटोक छैन र सामान्य भन्सार पास तिरेर आफ्नै गाडीमा जान पाइन्छ भन्ने सिक्किममा कमैलाई थाहा छ’, प्रदेश १ का पर्यटनकर्मीहरुसँग बोल्दै प्रधानले भने, ‘नेपाल छिरेपछि बजारै पिच्छे ढाड तेर्स्याएर महँगो पैसा असुल्छन भन्ने कुरा मात्रै सिक्किममा चर्चा छ। यही कारणले कम जान्छन्।’
पर्यटन विभागका प्रधान मात्रै हैन आफ्नै गाडीमा नेपाल आउजाउ गर्ने सिक्किमको सत्तारुढ दल सिक्किम प्रजातान्त्रिक मोर्चाका केन्द्रीय नेता मोहन दुङमालीले पनि नेपाल बारेमा राम्रो जानकारी नभएर समस्या भएको बताए। आफू पनि शुरुमा नेपाल जान आफ्नै गाडीमा धेरै समस्या होला भन्ने सुन्दै आएको तर दैनिक भन्सार पास लिएर नेपाल जान सकिने पछि मात्रै थाहा पाएको दुङमालीले बताए। उनले भने, ‘नेपालको पर्यटन बोर्ड र व्यवसायीहरूले नेपाल जान सजिलो र झन्झट छैन भन्ने बुझेमात्रै भने जानेहरुको सङ्ख्या बढ्छ।’
सिक्किम भ्रमणमा रहेका प्रदेश एकका पर्यटन व्यवसायीको समूहसँग सिक्किमका पर्यटनकर्मीहरुले प्रदेश १ का मुख्य पर्यटन क्षेत्रको प्रचार भएमा नेपाल जाने सङ्ख्या बढ्ने बताए। उनीहरूले नेपाली व्यवसायी, प्रदेश सरकार, पर्यटन बोर्डले नेपालको प्रचार सिक्किममा गर्न सके राम्रो बजार बढ्ने बताए। सिक्किममा हुने विभिन्न क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन मेलामा प्रदेश १ को विज्ञापन र ब्रान्डिङ गर्न सकेमा राम्रो प्रभाव पर्ने बताए।
नेपालका धार्मिक धरोहरमा सिक्किमका पर्यटकहरूको आकर्षण
नेपाल जाने सिक्किमका र सिक्किम आएका अन्य भारतीय राज्यका पर्यटकहरूको नेपालमा मुख्य आकर्षण नै धार्मिक धरोहर भएको जानकारहरूले बताए।
उनीहरूको अनुसार प्रदेश १ का हलेसी, बराहक्षेत्र, पाथीभरा र बुढासुब्बा जस्ता धार्मिक क्षेत्रहरू सिक्किममा चर्चित छन्। यी क्षेत्रमा भ्रमण गर्न चाहने सिक्किमका पर्यटकहरू पनि धेरै भएको पर्यटन तथा नागरिक उड्यन विभागका सहनिर्देशक मदन कुमार प्रधानले बताए। प्रधानका अनुसार सिक्किमका १२ सय बढी ट्राभल एजेन्सी, ७ सय बढी होमस्टे र १५ सय बढी होटलहरुमा मात्रै नेपाल भ्रमण बारेमा जानकारी दिने हो भने नेपाल जानेको सङ्ख्या बढ्छन।
सिक्किम पर्यटन तथा नागरिक उड्यन विभागका अनुसार सन २०१७ मा सिक्किममा १३ लाख ७५ हजार ८ सय ५४ आन्तरिक पर्यटकहरूले भ्रमण गरेका थिए भने युरोप अमेरिकालगायतका देशहरूबाट ४९ हजार १ सय ११ पर्यटकहरू आएका थिए।
नेपाल बाट भने हरेक वर्ष एक लाख हाराहारीमा पर्यटकहरू आउने सिक्किम पर्यटन बोर्डका पदाधिकारीहरूको भनाइ छ। सिक्किममा आएका आन्तरिक पर्यटकको आधा मात्रै सङ्ख्या नेपाल तान्न सकेमा प्रदेश १ को पर्यटकीय चहलपहल बढेर जाने व्यवसायी सुनिल भूषालले बताए। उनले भने, ‘सिक्किमसँग हाम्रो प्रदेशको स्थलमार्ग पाँचथरबाट जोडिन्छ। इलाम पनि बोर्डरबाट नजिकै छ। त्यही स्थानहरूबाट सिक्किम आएका १३ लाख आन्तरिक पर्यटक र आधा लाख युरोप अमेरिकाका पर्यटकहरू तान्ने प्रदेश १ को आधार छ।
तेस्रो देशका सिक्किम आएका पर्यटकहरू पशुपतिनगरबाट अन अराइभल भिसा दिएर नेपालमा तान्न सकिन्छ।’ हाल पशुपतिनगरबाट अन अराइभल भिसा दिन अध्यागमन विभागले तयारी गरेकोले नेपाल आउन सहज बन्दै गएको व्यवशायी भूषालले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४