काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरेकी छन्।
राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका-प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गर्नुभएको हो ।
स्वस्तिवाचनसहित मूल पुरोहित अर्याल र अन्य पुरोहितहरुले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गरेका थिए।
शास्त्रोक्त विधिपूर्वक प्रतिपदाका दिनदेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाअर्चना तथा सप्तशती पाठ गरिएको हनुमानढोका दशैघरबाट पूर्णकलशको जल, जमरा, तिलक र रक्षासूत्र ल्याइएको थियो।
राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गरेकी थिइन्।
त्यसअघि राष्ट्रपतिले दीप, कलश र गणेशको पूजा गरेकी थिइन्। राष्ट्रपति भवनको प्रेक्षालयमा टीका मङ्गलटीकाको कार्यक्रम भइरहँदा नेपाली सेनाको एक टोलीले मन्द तर मधुर ध्वनिमा मङ्गलधुन बजाएको थियो।
राष्ट्रपतिले आफ्ना पूजनीय माता मिथिला पाण्डेबाट टीका-जमरा र दक्षिणा ग्रहण गरेकी हुन्। साथै उनले काका डेकेन्द्र पाण्डेबाट पनि नवदुर्गा भवानीको प्रसादस्वरुप टीका-जमरा ग्रहण गरेकी थिइन्।
राष्ट्रपति भण्डारीले छोरीज्वाँइ उषाकिरण र उमेश थापा तथा निशाकुसुम र अभिषेक यादवलाई टीका-जमरा लगाइदिइन्। उनले परिवारका अन्य सदस्यका साथै राष्ट्रपति कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई पनि टीका जमरा लगाइदिइन्।





प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४